विराटनगर : सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब विराटनगरमा जारी छैठौँ विराट गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।
आइतबार राति भएको क्वाटरफाइनलमा पाहुना टोली भारतको पञ्जाव पुलिस क्लबसँग मच्छिन्द्र २–० गोल अन्तरले पराजित हुँदै खेलबाट बाहिरिएको हो।
जितसँगै पञ्जाब सेमिफाइनलमा प्रवेश गरेको छ।
उत्कृष्ट प्रदर्शन गरे पनि विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल मच्छिन्द्रका लागि बिर्सनलायक रह्यो।
खेलको ३९ औँ मिनेटमा पञ्जावका राजवीर सिंहले गोलको खाता खोलेर टिमलाई अगाडि बढाउँदा मच्छिन्द्र दबाबमा पर्यो। जगदीप सिंहको क्रस पासलाई सदुपयोग गर्दै उनले जाली चुमाएका हुन्।
पहिलो हाफमा एक गोलको अग्रता लिएको पञ्जावले दोस्रो हाफमा अर्को गोल थपेको हो। उसका लागि खेलको ८३औँ मिनेटमा महावीर सिंहले दोस्रो गोल थपेका हुन्। सर्वजित सिंहको फ्रिकिक प्रहारलाई वान भर्सेस वानको स्थितिमा उनले वानटचमै पोस्टको दिशा दिँदा मच्छिन्द्रको खेलमा फर्कने सम्भवना सकिएको थियो।
मच्छिन्द्रले खेल अवधिभर पञ्जावको तुलनामा निक्कै उत्कृष्ट र तारिफयोग्य प्रदर्शन गर्यो। तर मच्छिन्द्रको फिनिसिङ कमजोर हुनुको फाइदा उठाउँदै उसले विदेशी भूमिमा आफ्नो दबदबा कायम राखेर आगामी यात्रालाई सुरक्षित गर्न सक्यो।
खेलको सुरुवातमै अग्रता लिने अवसर गुम्नु मच्छिन्द्रका लागि दुर्भाग्यपूर्ण बन्यो। २० औँ मिनेटमा मच्छिन्द्रका उमेश राईले डी–बक्सभित्रबाट गरेको वान भर्सेस वानको प्रहारमा पञ्जावका गोलरक्षक सतवीर सिंह बाधक बनिदिए। गोलरक्षक सिंहबाट तत्काल रिबाण्ड भएर फर्किएको बललाई पुन: सदुपयोग गर्ने मौकामा पनि उनी सफल भएनन्। उमेशको लगातारको दोहोरो र सशक्त प्रहारलाई रोक्दै सिंहले आफ्नो टिमलाई सुरुवाती दबाबमा पर्नबाट बचाएका थिए।
खेलको ५४ औँ मिनेटमा निशान लिम्बूले पेनाल्टी बक्सबाट गरेको प्रहारले पोस्टको बाटो समात्न नसक्दा मच्छिन्द्रले खेलमा फर्कने अवसर गुमायो। त्यसपछिका केही राम्रा अवसरको समेत सदुपयोग हुन नसक्दा उसले सान्त्वना गोल पनि फर्काउन सकेन।
खेलको म्यान अफ दी म्याच पञ्जावका जगदीप सिंहले १० हजार नगद पुरस्कार पाए।
पञ्जावका प्रशिक्षक हर्नेक सिंहले नेपालको लिग विजेता टिमलाई हराउनु आफ्ना लागि गर्व गर्न लायक रहेको सुनाए। राम्रो र उत्कृष्ट टिमलाई पराजित गर्न पाउँदाको खुसी र श्रेय उनले खेलाडीलाई सुम्पिएका छन्। केही घाइते खेलाडी निको हुने क्रममा रहेका कारण उनीहरुलाई मैदानमा उतार्न नसकिएको अवस्थामा पनि अरुले नतिजा दिने हिसाबको प्रदर्शन गरेको भन्दै प्रसिक्षक सिंहले खुशी व्यक्त गरे।
मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित हुन नसक्दा गोल्डकपको प्रारम्भिक उपस्थिति नै सफलताविहीन बनेको प्रतिक्रिया दिए। यद्यपि विराट गोल्डकपको मैदानमा पुगेका खेलाडीको तारिफयोग्य प्रदर्शनमा भने खोट लगाउने ठाउँ नरहेको उनको भनाइ थियो।
सेमिफाइनल यात्रा सुरक्षित गरेको पञ्जावले अब मंगलबार हुने अफ्रिकन रुट्स एसोसिएसन क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बलबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
सोमबार दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच खेल हुनेछ।
कमेन्ट गर्नुहोस्