विराटनगर : विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा विदेशी खेलाडीसहित उत्रिएको विराटनगर महानगरपालिका–११ लाई बुधबार राति ३–२ गोल अन्तरले स्तब्ध बनाउँदै एपीएफ उपाधिनजिक पुगेको हो ।
पहिलो सेमिफाइनल खेलमा विदेशी खेलाडीसहित मैदानमा पुगेको विराटनगरलाई पाखा लगाउने क्रममा एपीएफका तर्फबाट सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाले एक/एक गोल गरे । विराटनगरका तर्फबाट विदेशी खेलाडी स्टेफन समीर र प्रकाश बुढाथोकीले एक/एक गोल गरे ।
रोमाञ्चक एवं संघर्षपूर्ण खेलको सुरुवातमा निक्कै आक्रामक बनेको एपीएफले नतिजा आफ्नो पक्षमा पार्न भने थप गरिएको अतिरिक्त समयसम्म पर्खनु पर्यो । उसले अब उपाधि रक्षाका लागि आहारारा गोल्डकप विजेता संकटा ब्वाइज स्पोर्टिङ क्लब काठमाडौं र भारतको पञ्जाव पुलिस क्लबबीचको विजेतासँग आगामी शनिबार मैदानमा उत्रनु पर्ने छ । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलबाट संकटा र पञ्जावबीचको विजेता टुंगो लाग्ने छ ।
निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेलको छिनोफानो थप गरिएको ३० मिनेटको समयबाट मात्रै सम्भव भएको थियो । त्यसमा एपीएफ भाग्यमानी बन्यो । सनिश श्रेष्ठले २७ औँ मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । श्याम नेपालीले प्रहार गरेको बललाई विराटनगरका गोलरक्षक किशोर गिरीले बचाउने क्रममा रिबाउण्ड भएपछि सनिशले पोस्टको दिशा दिँदा गिरीले नियाल्नसम्म भ्याएनन् । गिरीले क्लियर गर्न नसकेको बललाई सनिशले वानटच जाली चुमाउँदा दबाबमा परेको विराटनगरले खेलमा फर्किन निक्कै समय खर्चनु पर्यो ।
उसले जवाफी गोल फर्काउन नसक्दा पहिलो हाफ १–० को अवस्थामा सकियो । रणनीति परिवर्तन गरेर मैदान छिर्दै मध्यान्तरपछि उत्कृष्ट प्रदर्शन गरेर खेललाई नियन्त्रणमा राखी निरन्तर पोस्ट आक्रमण गर्न थाले पनि उपाधिनजिक पुग्ने विराटनगरको सपना पूरा भने हुन सकेन ।
खेलको ५४ औँ मिनेटमा स्टेफन समीरको गोलमार्फत विराटनगरले खेललाई बराबरी (१–१) को अवस्थामा ल्यायो । सुनिल खड्काको पासमा उनले दर्शनीय गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । एपीएफका रवि थिङले ६६ औँ मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए । श्याम नेपालीको पासमा विपक्षी डिफेन्स विक्रम धिमाललाई बिट गर्दै डी–बक्सभित्रबाट रविले गरेको प्रहारले जाली चुमेको थियो ।
घरेलु मैदानमा दर्शकको भरपुर समर्थन बटुलेको विराटनगरले ६९ औँ मिनेटमा फेरि गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याउन सक्यो । प्रकाश बुढाथोकीले डी–बक्सनजिकबाट गरेको प्रहारमा एपीएफका गोलरक्षक राजु नगरकोटी प्रतिक्रियाविहीन बन्दा विराटनगर दोस्रो पटक खेलमा फर्कियो ।
दुवै टिमबाट थप गोल हुन नसकेपछि ९० मिनेटको निर्धारित समय २–२ को अवस्थाबाट गुज्रियो । थप गरिएको अत्तिरिक्त समयको २७ औँ मिनेटमा मणि लामाले गरेको प्रहारले फ्रेमभित्र प्रवेश पाउँदा एपीएफको जित निश्चित भयो । मध्यभागमा पाएको बललाई विराटनगरका कोमल खवास र फ्लोरेन्ट कोयराको फितलो डिफेन्स चिर्दै अघि बढेका मणिले आकर्षक गोल गर्न भ्याए ।
दुवै टिमले पाएका राम्रा केही अवसरको भने सदुपयोग गर्न सकेनन् । १५ औँ मिनेटमा कप्तान दिपक राईले गोल गर्ने सुन्दर अवसर खेर फाल्दा विराटनगरले सुरुवाती अग्रता बनाउन सकेन । खेलको ८२ औँ मिनेटमा सन्जोग राईको हेर्नलायक प्रहारलाई एपीएफका गोलरक्षक नगरकोटीले पञ्च गर्दै बचाएर आफ्नो टिमविरुद्धको संकट टारेका थिए । त्यसलगत्तै प्रकाश बुढाथोकीको प्रहारमा पनि नगरकोटी बाधक बनिदिँदा विराटनगरको फाइनल यात्रामा पूर्णविराम लाग्यो ।
खेलमा म्यान अफ दी म्याच घोषित भएका एपीएफका मणि लामाले १० हजार रुपैयाँ नगद पुरस्कार पाए ।
विराटनगरका प्रशिक्षक सञ्जीव बुढाथोकीले योजना अनुसार सुरुमा खेलमा तालमेल नमिलेको बताउँदै केही राम्रा अवसरमा चुक्नु हारको मुख्य कारण बनेको प्रतिक्रिया दिए । एपीएफका प्रशिक्षक सुदीप श्रेष्ठले टोलीको उत्कृष्ट प्रदर्शन जितको आधार भए पनि पाएका सुन्दर अवसरले पोस्टको बाटो तय गर्न नसक्दा नतिजा निकाल्न भने निक्कै संघर्ष गर्नु परेको बताए ।
कमेन्ट गर्नुहोस्