काठमाडौँ — नेपाल सुपर लिग शनिबारदेखि सुरु हुँदैछ । लिगका विजेताले पुरस्कार स्वरुप ३५ लाख रुपैयाँ पाउने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो घोषणा गरेको हो ।
आयोजकका अनुसार उप विजेताले १५ लाख रुपैयाँ पाउने छन् भने व्यक्तिगत ६ विधातर्फ उत्कृष्ट हुने प्रत्येकले एक एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलका म्यान अफ द म्याचले २५ हजार र उत्कृष्ट युवा खेलाडीले १० हजार रुपैयाँ पाउने छन् ।
लिग चरणमा अंक बराबरीको स्थितिमा ‘हेड टु हेड’ हेरिनेछ भने इलिमिनेटरमा नियमित ९० मिनेटको समय बराबरी रहेमा सुरुमा ३० मिनेट थपिनेछ र त्यसपछि पनि बराबरी रहे खेल टाइब्रेकरमा जाने छ ।
कोभिड १९ को संक्रमणबाट बच्न सरकारले लागू गरेका सबै आचार संहित पालन गर्ने दाबी गरेको आयोजकले प्रतियोगिता दर्शकविहीन आयोजना गर्न लागेको हो ।
प्रतियोगिताको पहिलो खेल काठमाडौ रेजर्स र ललितपुर सिटी एफबीच दशरथ रंगशालामा हुनेछ ।
कमेन्ट गर्नुहोस्