काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रमैत्री बजेट ल्याउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै पौडेलले निजी क्षेत्रको महत्व बुझेकाले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइने बताएका हुन्।
सरकार निजी क्षेत्रसँग बलियो सहकार्य गरी मुलुकको आर्थिक विकासमा अगाडि बढ्ने र त्यसको आभास निजी क्षेत्रले आगामी बजेट मार्फत गर्न पाउँने मन्त्री पौडेलले प्रतिबद्धता जनाए। अर्थ सचिव शिशिर कुमार ढुंगानाले महासंघले विकास र समृद्धिका विषयमा बजेट सुझावमार्फत उठाएका विषयहरू अत्यन्त स्वागतयोग्य रहेको बताए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोनाको दोस्रो लहरले अर्थतन्त्रमा संकुचन आउन सक्ने बताए। अर्थतन्त्र पूर्ण रूपमा नरोकिए लक्ष्य भेट्टाउँन मुस्किल नहुने उनको भनाइ छ। आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) कार्यान्वयन गर्न कोरोनाले चुनौती दिए पनि कार्यान्वयन सुरु भइसकेको उनले बताए।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशबाट आउँने रकममा कर छुट दिएमा लगानी आउने बताए। पुँजी परवाह बढाउन र सम्पत्ती सुद्धिकरण ऐन कार्यान्वयनका लागि सम्पत्ती अभिलेखीकरणको व्यवस्था हुनुपर्ने उनको भनाइ छ।
यसैबीच महासंघले निजी क्षेत्रमैत्री बजेट ल्याउन सुझाएको छ। महासंघले आगामी आर्थिक वर्षको बजेटमा राजस्व सम्बन्धी सुझाबमा धेरैजसो अघिल्लो आर्थिक वर्षमा ल्याइएका प्रावधान खुकुलो बनाउँन सुझाव दिइएको छ।
अर्थमन्त्रीको रूपमा डा. युवराज खतिवडाले ल्याएका प्रावधानले निजी क्षेत्रलाई समस्यामा पारेकोे भन्दै धेरैजसो राजस्व नीति निजी क्षेत्रमैत्री बनाउन सुझाइएको छ।
कमेन्ट गर्नुहोस्