पेरिस — म्यानचेस्टर सिटीले उत्कृष्ट पुनरागमन रच्दै युरोपेली च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बुधबार पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उसकै घरमा २–१ ले पराजित गरेको छ ।
खेलको १५ औं मिनेटमा मारक्विन्होको गोलमा पीएसजीले अग्रता लिँदा पेप ग्वार्डिओलाको सिटी दबाबमा आउने संकेत देखिएको थियो ।
तर सिटीले दोस्रो हाफमा दुई गोल फर्काउन सफल रह्यो जुन दुई लेगको टाईमा निकै महत्त्वपूर्ण अवे गोल साबित हुन सक्नेछ । खेलको ६४औं मिनेटमा केभिन डे ब्रुएनाले सिटीका लागि बराबरी गोल गरे । रियाद मेरहेजले ७१औं मिनेटमा दोस्रो गोल थपे । यससँगै सिटी फाइनल प्रवेशका लागि बलियो प्रत्याशी बनेको छ ।
खेलको अन्त्यतिर पीएसजी दस खेलाडीमा सीमित रह्यो । इड्रिस गुयेलाई रातो कार्ड देखाइएको थियो । अब एक सातापछि सिटीले आफ्नो घरेलु मैदानमा पहिलो लेगमा प्राप्त अग्रतालाई जोगाउने प्रयास गर्नेछ । गत वर्ष फाइनल खेलेको पीएसजीले भने अब त्यस्तै सफलता दोहोर्याउन आफू पछाडि परेको स्थिति उल्टाउन संघर्ष गर्नुपर्नेछ ।
कमेन्ट गर्नुहोस्