Tuesday, May 11 2021

रोमामाथि म्यानचेस्टरका छ गोल

रोमामाथि म्यानचेस्टरका छ गोल

पेरिस — ब्रुनो फर्नान्डेज र एडिसन कभानीले दुई–दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले बिहीबार युरोपा लिग सेमिफाइनल पहिलो लेगमा एएस रोमालाई ६–२ ले हराएको छ ।

यो ठूलो अन्तरको जितपछि अर्को महिना हुने फाइनलमा प्रवेशका लागि म्यानचेस्टरले आफ्नो सम्भावना निश्चितजस्तै गरेको छ ।

रोमाले खेलमा २–१ को सुरुवाती अग्रता लिए पनि म्यानचेस्टरले ६ गोलको दुर्लभ नतिजा निकालेको हो । उसका लागि पउल पोग्बा र मेसन ग्रिनउडले पनि गोल गरे । अब सेमिफाइनलको दोस्रो लेग रोमाको घरेलु मैदानमा हुनेछ । त्यसमा उसले म्यानचेस्टरलाई पन्छाउन चमत्कारी खेल प्रदर्शन गर्नुपर्ने हुन्छ ।

रोमाका लागि लोरेन्जो पेलेग्रिनी र एडिन जेकोले गोल गरे । बिहीबारकै अर्को सेमिफाइनल पहिलो लेगमा भिल्लारियलले आर्सनललाई घरेलु मैदानमा २–१ ले हरायो । खेलको दोस्रो हाफमा निकोलस पेपेले पेनाल्टीबाट गोल गर्दै इंग्लिस प्रिमियर लिग क्लब आर्सनलको फाइनल पुग्ने सम्भावना जीवन्त राखे ।

आर्सनलका लागि यो अवे गोल निकै महत्त्वपूर्ण साबित हुन सक्नेछ । भिल्लारियलका लागि म्यानुएल ट्रिगुरेस र राउल अल्बिडोलले गोल गरे । खेलको अन्त्यमा दुवै टिम १० खेलाडीमा सीमित थिए । आर्सनलका लागि युरोपा लिग उपाधि नै अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोटको एक मात्र आधार रहेको छ । 

 

कमेन्ट गर्नुहोस्