पेरिस — फ्रान्समा आउटडोर क्याफे, रेस्टुरेन्ट, गैरअत्यावश्यक व्यवसाय, पसलहरु मे १९ बाट खुला गरिने भएको छ ।
कोरोना भाइरसबाट संक्रमितहरुको संख्या सघन उपचार कक्षमा घट्दै गएको बेला आउटडोर काफे, पसल र रेस्टुरेन्टहरु मे १९ बाट खोल्न दिइने स्वास्थ्य मन्त्री ओलिभिय भेरँले सोमबार साँझ सार्वजनिक गरेका हुन् ।
कोरोना संक्रमणको अवस्थामा हाल सुधार आएकाले स्थिति नियन्त्रणमा रहेको भन्दै उनले आउटडोर क्याफे, पसल, गैरअत्यावश्यक व्यवसाय, रेस्टुरेन्ट खोल्न दिने बताएका हुन् । फ्रान्सको एलसीआई टीभीलाई सोमबार अपरान्ह अन्तर्वार्ता दिँदै उनले स्थिति सुधारिए पनि स्वास्थ्य अवस्था र संक्रमणको सम्भावनालाई चनाखो भएर सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, फ्रान्सका अस्पतालमा सघन उपचार कक्षमा उपचाररत बिरामीहरुको संख्या आइतबार पाँच हजारबाट तल झरेको छ ।
मे १९ देखि प्रति टेबल बढीमा ६ जना ग्राहक मात्रै राख्न पाउनेगरि रेस्टुरेन्ट, क्याफेहरुलाई आउटडोर अनुमति दिइने भएको हो ।
कोरोना खोप लगाएको प्रमाणपत्र वा पीसीआर परिक्षण भएका विदेशी पर्यटकहरुलाई जुन महिनाको ५ देखि खुला गरिने अपेक्षा गरिएको छ । केही क्षेत्रहरूमा राखिएको साँझ ७ बजेदेखिको कर्फ्युको समय बदलेर राति ११ बजे पुर्याइने छ ।
कोरोनाको संक्रमण दर नियन्त्रणमै रहे जुन ३० देखि रात्रीकालीन कर्फ्यु र अन्य प्रतिबन्धहरु हटाउने पनि स्वास्थ्यमन्त्रीले सार्वजनिक गरेका छन् । तर कोरोना भाइरस रोकथामका प्रोटोकोलहरुलाइ भने सार्वजनिक स्थानमा कायम राखिने छ । नाइटक्लबहरू भने बन्द रहने छन् ।
कमेन्ट गर्नुहोस्