काठमाडौं, जेठ ९ गते । फाइजर र आष्ट्रा जेनेकाको खोप भारतमा उत्परिवर्तित भाइरसको स्वरुप विरुद्ध लड्न उच्च प्रभाबकारी रहेको एक अध्ययनले देखाएको छ । ‘इन्डियन भेरिएन्ट’ विरुद्ध दुबै खोपको दुबै डोजले विकसित गर्ने प्रतिरक्षा प्रणाली उच्च प्रभावकारी रहेको अध्ययनले देखाएको हो ।
बीबीसीका अनुसार सामुदायिक स्वास्थ्य बेलायतले गरेको अध्ययनले दुबै खोपको एक मात्र डोज लिएको तीन सातापछि ‘इन्डियन भेरिएन्ट’ विरूद्ध ३३ प्रतिशत मात्रै प्रभाबकारी देखिएको छ । केन्ट भेरिएन्ट विरुद्ध पहिलो डोज ५० प्रतिशत प्रभाबकारी देखिएको थियो ।
सामुदायिक स्वास्थ्य बेलायतको अध्ययनले दुबै खोपको दुबै डोजले अस्पताल भर्ना र मृत्युमा कमी आउनसमेत अत्यन्तै प्रभावकारी देखिने जनाएको छ । बेलायतका स्वास्थ्यमन्त्री म्याट्ट हयानककले अध्ययनको निचोडले जुन २१ देखि इंग्ल्याण्डले प्रतिबन्ध खुकुलो गर्न लागेको निर्णय सही साबित हुने दिशामा रहेको देखाएको प्रतिक्रिया दिनुभयो ।
अध्ययनले फाइजरको दोस्रो डोजको खोप लगाएको दुई सातापछि लक्षणसहित इन्डियन भेरिएन्ट विरुद्ध ८८ प्रतिशत प्रभावकारी रुपमा काम गर्ने देखिएको छ । केन्ट भेरिएन्ट विरुद्ध दुई डोज खोप लगाएको दुई सातापछि ९३ प्रतिशत प्रभावकारी देखिएको थियो ।
आष्ट्राजेनेकाको दोस्रो डोजको खोपपछि इन्डियन भेरिएन्ट विरुद्ध ६० प्रतिशत प्रभावकारी हुने पाइएको छ । अध्ययनले आष्ट्रा जेनेकाको खोप लगाएको लामो समयपछि मात्रै पूर्ण प्रतिरक्षा दिने हुँदा निचोडमा समावेश गरिएको जिनोम सेक्वेन्समा अझै समय लिँदा बढी प्रभावकारी देखिने अनुमान गरेको छ ।
जिनोम सेक्वेन्समा करिब १२ हजार ६७५ नमूनाको अध्ययन गरिएको थियो । उक्त अध्ययन पाँच अप्रिलदेखि १६ मईसम्म चलेको थियो । जसमध्ये एक हजार ५४ ‘इन्डियन भेरिएन्ट’(बी.१.६१७.२.)को नमूना पाइएको थियो ।
कमेन्ट गर्नुहोस्