टुरिन — युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लोले आफ्नो क्लब बसाइ कायम रहने आत्मविश्वास पोखेका छन् । युरोपेली च्याम्पियन्स लिगमा छनोट भएपछि सोमबार पिर्लो आफ्नो भविष्यलाई लिएर ढुक्क देखिएका हुन् ।
युभेन्टसले इटालीको सिरी ‘ए’ मा अघिल्लो दिन बोलोग्नालाई ४–१ ले हराएको थियो । टोली योसँगै नाटकीय रूपमा चौथो स्थानमा रह्यो । युभेन्टसको ७८ अंक भयो र यो पाँचौंमा स्थानमा रहेको नेपोलीमाथि एक अंकको अग्रता हो ।
बोलोग्नाविरुद्धको निर्णायक साबित खेलमा पिर्लोले क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए तर टिमको प्रदर्शन पोर्चुगाली खेलाडी बिर्साउने खाले थियो । युभेन्टस लगातार इटालीको लिग उपाधि जित्न असफल रहे पनि सिजनको अन्त्यमा केही सुखद समाचार दिन भने सफल रह्यो । इन्टर मिलान ९१ अंकसहित शीर्षस्थानमा रह्यो र लिग च्याम्पियन बन्यो । यो युभेन्टसको भन्दा १३ अंकको ठोस अग्रता हो । सिजनको अन्त्यमा युभेन्ट्सले पनि धेरै गुनासो गर्ने छैन ।
लिगको अन्तिम दिनको खेलपछि एसी मिलान दोस्रो र एटलान्टा तेस्रो स्थानमा रहे । च्याम्पियन्स लिगमा छनोट हुनु अगाडि युभेन्टसले कोपा इटालिया उपाधि हात पारेको थियो । यस्तोमा पिर्लोले भने, ‘म शतप्रतिशत ढुक्क छु, अर्को सिजन पनि म युभेन्ट्स प्रशिक्षकमै रहनेछु । तर मलाई के पनि थाहा छ भने यसबारे अन्तिम निर्णय गर्ने काम मेरो होइन । अहिले तत्काल म बोलोग्नालाई हराएर च्याम्पियन्स लिगमा छनोट भएको खुसीमा रम्न चाहन्छु । अबको केही दिनपछि क्लबमा मेरो भविष्यलाई लिएर छलफल रहनेछु ।’
उनले थपे, ‘सिजनको सुरुआत कमजोर रह्यो र हामी संघर्ष गर्न बाध्य रह्यौं । यसले हाम्रो चिन्ता बढाउने काम गरेको थियो । तर, अन्त्यमा हामीले आफ्नो बाटो के हो भनेर बुझ्न सक्यौं । त्यसैले हामीले कोपा इटालियामात्र जितेनौं, अर्को सिजन च्याम्पियन्स लिग खेल्न भएका छौं । यो सिजन धेरैथोक भए तर मैले के महसुस गरेको छु भने मैले अझै धेरै सिक्नु छ, आफ्नो काममा धेरै सुधार ल्याउन बाँकी छ ।’
पिर्लोले खेलपछि रोनाल्डोलाई पूरा ९० मिनेट बेन्चमै सीमित राख्नुको कारण खोल्ने प्रयास गरेका छन् । रोनाल्डोले मैदानमा प्रवेश गर्न तयारी गरिरहे पनि उनलाई पिर्लोले छिराएनन् । त्यसबारे प्रशिक्षकले भने, ‘यसबारे मैले र रोनाल्डोले खेलअगाडि नै निर्णय गरेका थियौं, किनभने उनी केही थाकेको अनुभव गरिरहेका थिए बुधबारको खेलपछि । खासमा हाम्रो टिम निकै बलियो छ र धेरै विकल्प उपलब्ध थिए, त्यसैले मैले जुनसुकै खेलाडी खेलाए पनि हुन्थ्यो ।’
पूरा सिजनकै सबैभन्दा महत्त्वपूर्ण खेलमा रोनाल्डोलाई नेखेलाउनु पनि आश्चर्यजनक र अर्थपूर्ण मानिएको छ । पिर्लोको यो निर्णय पनि युभेन्टसमा रोनाल्डोको भविष्यलाई लिएर प्रश्न उठेको छ । रोनाल्डोले अर्को सिजनअगाडि नै युभेन्टस छाड्ने सम्भावना बताइएको छ । उनको नयाँ गन्तव्यबारे पनि धेरै अड्कल काट्न सुरु भएको छ । केहीले रोनाल्डो आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्कने वा पोर्चुगाली लिगमै जाने सम्भावना रहेको अनुमान गरेका छन् ।
युभेन्टसका प्रशिक्षक आन्द्रे पिर्लो र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो । लिगको अन्तिम खेलमा रोनाल्डो बेन्चमै रहे ।तस्बिर : रोयटर्स
कमेन्ट गर्नुहोस्