काठमाडौं : फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको मंगलबार राति इराक प्रस्थान गरेको छ। २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली इराक प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपाली टोली कतार एयरवेजबाट इराक प्रस्थान गरेको हो।
विश्वकपअन्तर्गत एसियाली छनोट र इराकसँगको मैत्रीपूर्ण खेलका लागि इराक जान लागेका २३ खेलाडी र १२ अफिसियलको पीसीआर परीक्षण गरिएको थियो। पीसीआर परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको थियो।
नेपालले जेठ १५ मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ। इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली स्थलमार्गबाट कुवेत जाने एन्फाले जनाएको छ। विश्व फुटबल महासंघ (फिफा) विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका नेपालले तीन खेल्न बाँकी छ। नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग एक÷एक खेल खेल्न बाँकी छ। कुवेतमा हुने छनोटका बाँकी खेलअन्तर्गत नेपालले जुन ३ मा ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियासँग खेल्नेछ।
विश्वकप छनोटअन्तर्गत नेपालले आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।
अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ।
इराकसँगको मैत्रीपूर्ण र विश्वकप छनोटका बाँकी खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले २३ सदस्यीय टोली घोषणा गरेका थिए। उनले टोलीमा व्यापक परिवर्तन गरी युवा खेलाडीलाई मौका दिएका छन्। राष्ट्रिय टोलीमा सुरज ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक परेका छन्।
यसैगरी नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की छन्। यस्तै रक्षकमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास छन्। यसैगरी मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनील बल, सुरज ठकुरी, पूजन उपरकोटी र आयुष घलानलाई छन्। स्ट्राइकरमा अभिषेक रिजाल, अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा छन्।
कमेन्ट गर्नुहोस्