म्याड्रिड — जिनेदिन जिदानले तत्काल लागू हुनेगरी रियल म्याड्रिड प्रशिक्षकबाट बिहीबार राजीनामा दिएका छन् । उनले रियलको प्रशिक्षक पद छाडेको यो दोस्रोपल्ट हो ।
यसपल्ट भने स्पेनी लिग उपाधि एट्लेटिको म्याड्रिडसँग गुमाएको केही दिनमै फ्रान्सेली प्रशिक्षकले आफ्नो पद छाडेका हुन् । कीर्तिमान १३ पटकको युरोपेली विजेताका लागि यस सिजन खराब रहेको छ , टोली ११ सिजनयता पहिलोपल्ट कुनै उपाधि जित्न असफल रह्यो ।
रियल च्याम्पियन्स लिग सेमिफाइनलमा चेल्सीसँग पराजित रह्यो । जिदानले १० दिनअगाडि मात्र स्पेनी मिडियासामु आफूले रियल छाड्न सक्ने संकेत गरेका थिए । यस्तै उनले आफ्ना खेलाडीलाई अर्को सिजन आफू क्लबमा नरहने बताएको स्पेनी मिडियाले जनाएको थियो ।
उनको रियलसँग सन् २०२२ सम्मको अनुबन्धन थियो । रियलले बिहीबार नै विज्ञप्ति जारी गरेर जिदानको क्लब छाड्ने निर्णयप्रति सम्मान गर्ने जनाएको छ । क्लबले ४८ वर्षीय जिदानले क्लबमा रहँदा प्रदर्शन गरेको व्यावसायिकता, समर्पण र प्रतिबद्धताका लागि धन्यवाद दिएको छ ।
रियलले क्लबका लागि जिदानको ठूलो अर्थ रहेको जनाएको छ । सन् २००१ देखि २००६ सम्म जिदानले खेलाडीका रूपमा रियलमै बिताएका थिए । प्रशिक्षकका रूपमा भने उनले सन् २०१६ देखि २०१८ बीच लगातार तीनपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको थियो । यस्तै रियलमा प्रशिक्षक भएको पहिलो सिजन नै स्पेनी ला लिगा उपाधि जितेको थियो ।
सन् २०१८ मा उनले पहिलोपल्ट प्रशिक्षक पद छाडेका थिए । त्यसको १० महिनापछि उनी फेरि क्लबमा फर्के र गत सिजन दोस्रोपल्ट ला लिगा जिते । रियलले भनेको छ, ‘रियल म्याड्रिडका लागि जिनेदिन जिदान महान व्यक्तित्व हुन् । उनको छवि अझ योभन्दा धेरै ठूलो छ । उनले क्लबका लागि खेलाडी र प्रशिक्षकका रूपमा जे–जति सफलता हात पारे, त्यो अद्वितीय छ । रियलका समर्थकमाझ उनको स्थान जहिल्यै विशेष रहनेछ ।’
कमेन्ट गर्नुहोस्