कार्यकारी प्रमुख र परराष्ट्रमन्त्री कता गए ? परराष्ट्रमन्त्रीको भूमिका यस्तै बेला बढी हुनुपर्ने हो । – दिनेश भट्टराई, कूटनीतिक विज्ञ
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा बेलायतकी महारानी एलिजाबेथ द्वितीय र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र पठाएकी छन् ।
राष्ट्रपति भण्डारीले एलिजाबेथ द्वितीय र पुटिनलाई नेपालका लागि कोरोनाविरुद्धको खोप खरिदमा सहायता गरिदिन पत्र पठाएकी हुन् । राष्ट्रपति कार्यालयले एलिजाबेथ द्वितीयलाई आइतबार र पुटिनलाई शुक्रबार पत्र पठाएको हो । पुटिनलाई पठाइएको पत्र मस्कोस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा हस्तान्तरण गर्न बाँकी छ । महारानीलाई भने आइतबारै काठमाडौंस्थित दूतावासमार्फत बेलायतको विदेश मन्त्रालयमा प्रेषित गरिएको छ ।
राष्ट्रपति भण्डारीले रुससँग त्यहाँ उत्पादित स्तुपनिक–५ खोप सहयोगका लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपत्कालीन प्रयोगको मान्यता दिइसकेको छ । कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नका लागि सहयोग भन्दै राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते दक्षिण छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेकी थिइन् । उनले कोविन्दसँग खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले त्यसको भोलिपल्ट जेठ १३ गते चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गरी खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् । उक्त अवसरमा सीले नेपाललाई १० लाख मात्रा खोप सहयोग गर्ने र खरिदमा सहजीकरण गरिदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन संवाद गर्ने खोजेकी थिइन् । टेलिफोन संवाद सम्भव नभएपछि पत्राचार नै गर्ने निर्णयमा उनी पुगेकी हुन् । राष्ट्रपति भण्डारीले जेठ १३ गते नै अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र पठाएर खोप सहयोगको अनुरोध गरेकी हुन् । उक्त पत्र अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले त्यहाँको विदेश मन्त्रालयका वरिष्ठ सल्लाहकार इर्भिन मसिन्गालाई शनिबार हस्तान्तरण गरिसकेका छन् ।
कूटनीतिक माध्यममार्फत नेपाललाई प्राप्त सूचनाअनुसार उक्त पत्र बाइडेनले सोमबार पाउनेछन् । पुटिनलाई पठाएको पत्र भने बुधबार उनले पाउने प्रारम्भिक सूचना परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको स्रोतले जनाएको छ । यसअघि नेपालले रुससँग खोप खरिदका लागि पहल गरे पनि बीचमा रोकिएको थियो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले रुसबाट खोपका लागि वार्ता गर्न आएको उच्चस्तरीय टोलीले नेपाललाई ८० लाख मात्रा खोप उपलब्ध गराउन सक्ने जनाएका थिए । तर त्यो विषय कता पुग्यो भन्नेबारेमा मन्त्री त्रिपाठीले कसैलाई पनि बताएका छैनन् ।
कूटनीतिक विज्ञ दिनेश भट्टराई संवैधानिक राष्ट्रपतिले खोप आपूर्तिका लागि पहल गरिरहँदा नेपालका कार्यकारी प्रमुख प्रधानमन्त्री (केपी शर्मा ओली) कता हराए भन्ने प्रश्न उठ्ने बताए । ‘यो काम गर्नुपर्ने कार्यकारी प्रमुखले हो । कार्यकारी प्रमुख र परराष्ट्रमन्त्री (प्रदीप ज्ञवाली) कता गए ? परराष्ट्रमन्त्रीको भूमिका यस्तै बेला बढी हुनुपर्ने हो,’ उनले भने, ‘राष्ट्रपतिले संकटका बेला ढिलो भए पनि सही कदम चाले पनि कार्यकारी प्रमुख र परराष्ट्रमन्त्रीको भूमिकालाई लिएर प्रश्न गर्नुपर्छ । संवैधानिक राष्ट्रपतिको यस्तो कदम अस्वाभाविक छ ।’
अर्का कूटनीतिज्ञ अर्जुनकान्त मैनाली अहिले राष्ट्रपतिको कदमलाई ‘घरेलु खपत’ मा बढ्ता केन्द्रित भएको ठान्छन् । ‘नेपालले खोप ल्याउनका लागि साँच्चै पहल गरेको भए परराष्ट्रमन्त्री थिए । परराष्ट्रमन्त्रीस्तरबाट काम गर्न सकिन्थ्यो । त्यसमाथि कार्यकारी प्रमुख पनि थिए । तर यहाँ त संवैधानिक राष्ट्रपतिबाट काम भइरहेको छ,’ उनले भने, ‘यो आन्तरिक राजनीतिलाई डाइर्भट गर्न मात्र कदम चालिएको को कि भन्ने प्रश्न उठेको छ ।’ उनले भारत वा चीनबाट नेपालले खोप ल्याउन पहल गर्नका लागि परराष्ट्रमन्त्रीले पहल गर्न सक्ने बताए । ‘पहलका लागि परराष्ट्रमन्त्री दिल्ली वा बेइजिङ पनि जान सक्थे,’ उनले भने । कूटनीतिमा प्रचार गरेरभन्दा नतिजामुखी हुँदै काम गर्नुपर्नेमा उनले जोड दिए ।
राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टीका ढकाल भने राष्ट्रपतिको पहल नेपाल सरकार र परराष्ट्र मन्त्रालयभन्दा बाहिर गएर नभएको बताए । उनले नेपाल सरकार र परराष्ट्र मन्त्रालयको समन्वयमा राष्ट्रको सर्वोच्व निकाय आवश्यक पर्दा प्रयोग भएको तर्क गरे । ‘राष्ट्राध्यक्षको गुड अफिसलाई राष्ट्रका लागि आवश्यकता पर्दा उच्च तहमा सम्पर्क गर्न उपयोग गरिएको हो । यो सरकारकै समन्वयमा भएको हो,’ उनले भने । उनले यसलाई अन्यथा लिन नहुने बताए ।
राष्ट्रपति भण्डारीले रानीलाई अनुरोधसहित लेखेको पत्र संयुक्त अधिराज्यको विदेश मन्त्रालयमार्फत् ३० मेमा प्रेषित गरिएको नेपाली राजदूतावासले आइतबार जनाएको छ । पुटिनलाई लेखिएको पत्र मस्कोस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा हस्तान्तरण गर्न बाँकी छ ।
बेलायतले गत साता नेपाल सरकारको अनुरोधबमोजिम २६० वटा भेन्टिलेटर, भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा १९ हजार २०० फेस सिल्ड सहयोगस्वरूप नेपाल सरकारलाई उपलब्ध गराएको थियो ।
कमेन्ट गर्नुहोस्