काठमाडौं,जेठ १८ गते । अबदेखि सबै प्रकारका अस्पतालहरुले सात दिनभित्र आफ्नो संस्थाबाट प्रवाह भइरहेको सेवाको शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षक समेत उल्लेख गरी वेवसाइट तथा सूचना पाटीमा सबैले देख्ने गरि जानकारी गराउनुपर्ने बताएको छ ।
मन्त्रालयले निजी, सरकारी, सहकारी तथा सामुदायिक सबै अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयका गुणस्तर तथा अनुगमन शाखा प्रमुख डा. मदन कुमार उपाध्यायले सबै अस्पतालले शुल्कको जानकारी,संस्था सञ्चालन इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन पनि मन्त्रालयले निर्देशन गरेको जानकारी दिनुभयो ।
उहाँले कतिपय स्वास्थ्य संस्थाहरुले बिरामीको उपचार शुल्क चर्को लिएको, अक्सिजनको अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गराइ बिरामीमाथी थप आर्थिक व्ययभार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त गर्न बिरामी आफैंलाई लगाउने गरेको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको गुनासो आएपछि मन्त्रालयले अस्पतालले कुन शिर्षकमा कति शुल्ल लिएको हो सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभयो ।
कमेन्ट गर्नुहोस्