मोन्टेभिडियो — यसपल्टको कोपा अमेरिका फुटबल अब ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबल महासंघले सोमबार प्रतियोगिता पूर्वनिर्धारित मितिमै ब्राजिलमा हुने निर्णय गरेको हो ।
खेलतालिका र खेलस्थलको बारे भने केही दिनपछि तय गर्ने जनाइएको छ । कोपा जुन १३ देखि जुलाई १० सम्म हुने प्रतियोगितामा दक्षिण अमेरिकाका १० देशले भाग लिनेछन् ।
कोपा अमेरिका २०२० संयुक्त रूपमा दुई देश अर्जेन्टिना र कोलम्बियामा आयोजना हुन लागेको थियो । प्रतियोगिताको १ सय ५ वर्षे इतिहासमा पहिलोपल्ट संयुक्त आयोजना हुन लागेको हो । तर, मे २० मा महासंघले कोलम्बियालाई प्रतियोगिता आयोजकबाट हटाएको थियो । त्यहाँ सामाजिक र आर्थिक परिवर्तनको माग राख्दै पूरा देशमा प्रदर्शन चलिरहेको छ ।
त्यसपछि प्रतियोगिता अर्जेन्टिनामात्र हुने तय भयो । सोमबारमात्र अर्जेन्टिनालाई आयोजकबाट हटाइएको थियो । महासंघले अर्जेन्टिनाबाट पनि प्रतियोगिता हटाउनुको कारण के भनेर ठ्याक्कै खुलाएको भने छैन तर अहिले अर्जेन्टिनामा कोरोना भाइरस संक्रमणको दोस्रो लहर चलिरहेको छ ।
महासंघले प्रतियोगिता आयोजनामा रुचि देखाएका अरू देशबारे विश्लेषण गरिरहेको र नयाँ घटनाक्रमबारे तुरुन्तै जानकारी दिने बताएको थियो । सन् २०२० मा हुनुपर्ने यो प्रतियोगिता त्यही बेलाको महामारीका कारण एक वर्ष सारिएको थियो । अबको स्थितिबारे महासंघको बैठक बस्दैछ । महासंघको अहिलेको निर्णय भने सप्ताहन्तको समाप्तिमा घोषणा गरिएको थियो । अर्जेन्टिनाभित्र पनि प्रतियोगिताको स्थगनबारे प्रश्न उठिरहेको थियो ।
मे महिनायता अर्जेन्टिनामा संक्रमणको दोस्रो लहर चर्को रूपमा बढेको छ । यसक्रममा त्यहाँ कडा लकडाउन लागू भइरहेको छ । पछिल्लो बिहीबार त्यहाँ सबैभन्दा बढी संक्रमित भएका थिए । सप्ताहन्तसम्म यसबाट मृत्यु हुनेको संख्या ७६ हजार ६ सय ९३ पुगिसकेको थियो । प्रतियोगिताका लागि भनेर युरोपबाट फर्केका केही प्रमुख खेलाडीले पनि प्रतियोगिता हुनेमा शंका व्यक्त गरेका छन् । उरुग्वेली खेलाडी लुइस स्वारेजले प्रतियोगिताभन्दा मानवीय हित मुख्य रहेको बताएका छन् ।
महासंघका महासचिव गोन्जालो बेलोसोले गत साता प्रतियोगिता सार्नेबारे चिलीसँग कुराकानी गरेको बताएका थिए । आर्थिक कारण महासंघका लागि प्रतियोगिताको आयोजना अनिवार्यजस्तै छ । युरोपेली च्याम्पियनसिप बराबर रहेको कोपा अमेरिकाको आयोजनाबाट सन् २०१९ मा महासंघले ११ करोड ८० लाख डलर नाफा कमाएको थियो । पछिल्लो समय प्रतियोगिताको महत्त्व र महासंघको प्रतिष्ठामा आँच आइरहेको छ ।
कमेन्ट गर्नुहोस्