सङ्खुवासभा, जेठ २४ गते । सङ्खुवासभा जिल्लाको चिचिला गाउँपालिकाका कृषकले पानी–मकै लगाएका छन् । दुई सय रोपनी क्षेत्रफलमा पानी–मकै लगाइएको हो । अघिल्लो वर्षसम्म थोरै क्षेत्रफलमा मात्र लगाइएको पानी–मकै यस वर्ष गाउँपालिकाको साझेदारीमा ठूलो क्षेत्रफलमा लगाइएको हो ।
अत्यन्तै पौष्टिक तŒवयुक्त र स्वादिलो मानिने पानी–मकै उत्पादनका लागि गाउँपालिकाले वडा नं. ४ को मत्छे र धजे क्षेत्रलाई पकेट क्षेत्र घोषणा गरेको छ । पकेट कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले कृषकलाई १२ लाख रुपियाँ बराबरको अनुदान दिएको छ । उक्त बजेटबाट मकैको बीउ खरिदमा ५० र सिँचाइ व्यवस्थापनमा ८५ प्रतिशत कृषकलाई अनुदान दिएको हो । अनुदानसहितको पानी–मकै उत्पादन पकेट कार्यक्रममा २५ कृषक सहभागी रहेको चिचिला गाउँपालिका कृषि शाखाले जनाएको छ ।
पानी–मकैको उत्पादन बढाउने उद्देश्य राखेको गाउँपालिकाले यस वर्ष प्रतिरोपनी २५० किलोग्रामसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ । मुख्यगरी सिँचाइ व्यवस्थित बनाइएकाले अघिल्ला वर्षभन्दा यस वर्ष उत्पादन वृद्धि हुने गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले बताउनुभयो । कृषकले यसअघि पनि प्रतिरोपनी दुई सय किलोग्रामसम्म उत्पादन गर्दै आएका थिए । पानी–मकैको मूल्य अहिले प्रतिपाथी (करिब चार किलोग्राम) तीन सयदेखि चार सय रुपियाँसम्म छ । यो मकै मधुमेहका बिरामीका लागि अन्य प्रजातिको मकैभन्दा लाभदायक भएको दाबी गरिएको छ ।
अन्यत्र कतै नफल्ने तर सङ्खुवासभाको चिचिला गाउँपालिकामा मात्र पानी–मकै उत्पादन हुने गरेको गाउँपालिकाको दाबी छ । यो प्रजातिको मकैका बारेमा आफूले पनि विभिन्न जिल्लामा खोजी गरेको र कृषि कार्यालयहरूमार्फत समेत खोजी गर्दा यो किसिमको मकै कतै फेला नपरेको गाउँपालिका अध्यक्ष शेर्पाले बताउनुभयो ।
पानी–मकैबारे सङ्खुवासभा आएपछि मात्र थाहा पाएको कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द आचार्यले बताउनुभयो । पानी–मकैबारे आफूले सुनेपछि नमुना सङ्कलन तथा अध्ययनका लागि कृषि प्राविधिक पठाएकोसमेत प्रमुख आचार्यले बताउनुभयो । मकैको दाना हेर्दा गणेश जातको जस्तो देखिए पनि पानीबिना नफल्ने भन्ने कुराले अन्योल बनाएको उहाँले बताउनुभयो ।
कसरी लगाइन्छ पानी मकै ?
पानी–मकै अन्यजस्तै उस्तै आकार र प्रकारको हुन्छ तर रोप्ने र गोडमेल गर्ने तरिका भने फरक छ । पानी–मकै कृषक काजीमान गुरुङका अनुसार यस मकैको बोटमा निरन्तर पानी लगाउनुपर्छ । मकैको बोटमा लगातार पानी बग्नुपर्ने भएकाले पर्याप्त सिँचाइ हुने क्षेत्रमा मात्र यो बाली लगाइन्छ । यस मकैलाई नियमित पानी आवश्यक भए पनि बोटमा पानी जम्नु हुँदैन । मकैको बोटमा पानी जमे बोट मर्ने तथा नबढ्ने समस्या हुन्छ । पानी नजम्नका लागि माटो भिरालो बनाउनुपर्छ । प्रत्येक बोटमा पानी नपुगे फल दिँदैन ।
पानी–मकैका लागि अतिरिक्त मल आवश्यक नपर्ने अर्को कृषक मीना राई बताउनुहुन्छ । यो मकैका लागि पानी नै मल भएकाले अरू मल लगाउने नगरेको उहाँको भनाइ छ । “पानीमा मल लगाए पनि बगाएर लगिहाल्छ, त्यही भएर मल लगाउने कुरै भएन । यसका लागि त पानी नै मल हो,” कृषक राईले भन्नुभयो । यसअघि मल लगाएर मकै लगाउँदा पनि खासै फरक नपरेको किसानले आफ्नो अनुभव सुनाएका छन् । यस प्रजातिको मकै करिब डेढ फुटको भएदेखि पाक्न थालेसम्मको अवधिमा पानी लगाइन्छ ।
कमेन्ट गर्नुहोस्