काठमाडौं, असार ७ गते । यूरो कप फुटबल २०२० मा इटालीको अपराजित यात्रा जारी रहेको छ । गए राति अबेर सम्पन्न खेलमा इटालीले वेल्सलाई हराउँदै लिगको तीनमध्ये तीनै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको छ । इटाली यसअघि नै समूह ए को विजेता हुँदै यूरो कप फुटबलको अन्तिम १६ मा स्थान बनाइसकेको छ । समग्रमा इटालीको यो ३० औं अपराजित खेल रहन गयो ।
वेल्समा आइतबार सम्पन्न खेलमा इटालीले आफ्नो नियमित टोलिमा नौ परिवर्तन गरी वेल्स बिरुद्ध मैदानमा उत्रेको थियो । माटेओ पेस्सीनाको एक मात्र गोल इटालीको वेल्समाथिको संघर्षपूर्ण जितमा निर्णायक रहन गयो ।
वेल्सले एक घण्टाभन्दा बढी समय दश खेलाडीमा सीमित रहेर इटाली बिरुद्ध खेल्नुपरे पनि ठूलो गोल अन्तरको हारबाट आफूलाई जोगायो । इथान एम्पाडुले फेडेरिको बर्नेस्कीलाई लडाउँदा म्याच रेफ्रीले रातो कार्ड देखाएपनि वेल्स दश खेलाडीमा सीमित हुन पुग्यो ।
वेल्सले भने इटाली बिरुद्धको समान्य अन्तरको हारले ठूलो राहतको रुपमा लिएको छ । अङ्क तालिकामा ऊ दोस्रो स्थानमा छ । समान अङ्क रहेपनि स्वीटजरल्याण्ड तेस्रो स्थानमा रहँदा वेल्सको अन्तिम १६ मा छनोट हुने सम्भाबना बलियो छ ।
इटालीले अन्तिम १६ मा समूह सी को दोस्रो स्थानमा रहने टोलिसँग स्पर्धा सुनिश्चित गरेको छ । रोबर्ट पेजको वेल्सले भने अन्तिम १६ मा समूह बी को उपविजेतासँग स्पर्धाको तयारीमा लाग्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्