पेरिस — क्रिस्टियानो रोनाल्डोले बिहीबार अर्को कोसेढुंगा छोएका छन् । उनले पेनाल्टीबाट गरेको दुई गोलमा पोर्चुगलले फ्रान्सलाई युरो २०२० मा २–२ को बराबरीमा रोक्यो ।
यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ९ पुगेको छ । इरानका अली देईले पनि इरानका लागि सन् १९९३ देखि २००६ खेलेर १ सय ९ गोल गरेका छन् । रोनाल्डो र दाइ नै ९० भन्दा बढी अन्तर्राष्ट्रिय गोल गर्ने दुई मात्र पुरुष खेलाडी हुन् ।
त्यस्तै रोनाल्डो युरो कपको समूह चरणका तीनवटै खेलमा गोल गर्ने पहिलो पोर्चुगिज खेलाडी पनि बनेका छन् । रोनाल्डोले युरो २०२० को पहिलो खेलमा हंगेरीविरुद्ध २ र जर्मनीविरुद्ध १ गोल गरेका थिए । पोर्चुगलले हंगेरीलाई ३-० ले हराएको थियो भने जर्मनीसँग ४-२ ले हारेको थियो ।
यस कीर्तिमानको बराबरीपछि ३६ वर्षीय रोनाल्डो विश्व फुटबलकै सर्वकालीन महान खेलाडीको हैसियतका लागि अझ बलियो प्रत्यासी बनेका छन् । उनी युरो र युरोपेली च्याम्पियन्स लिग दुवैमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।
कमेन्ट गर्नुहोस्