बुखारेस्ट — स्विट्जरल्यान्डले टाइब्रेकरमा फ्रान्सलाई सोमबार ५–४ ले स्तब्ध पार्दै युरो २०२० को क्वार्टरफाइनल यात्रा निश्चित गरेको छ । केयलिन एमबापे निर्णायक पेनाल्टी प्रहारमा चुकेपछि विश्व च्याम्पियन फ्रान्सले स्तब्धपूर्ण नतिजा बेहोरेको हो । यसअघिको खेल ३–३ को रोमाञ्चक बराबरीमा रहेको थियो ।
दुई गोलले पछाडि रहेको स्थितिबाट खेलमा फर्केको स्विस टिमका लागि मारियो गाभरानोभिचले ९० औं मिनेटमा बराबरी गोल गोल गरेका थिए । स्विस गोलरक्षक यान सोमरले एमबापेको पेनाल्टीलाई गोल हुन दिएनन् । अब अन्तिम आठमा स्विट्जरल्यान्डको सामना स्पेनसँग हुनेछ । खेलपछि सोमरले भने, ‘आजको खेल अद्वितीय रह्यो ।’
ह्यारिस सेफेरोभिचले स्विट्जरल्यान्डलाई १५ औं मिनेटमा अग्रता दिलाएका थिए । लगतै रिकार्डो रोडरिग्वेजको पेनाल्टी प्रहार फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले जोगाए । त्यसपछि फ्रान्सेली टिममा साढे पाँच वर्षपछि फर्केका करिम बेन्जेमामा दुई गोल गर्दै टिमलाई खेलमा पर्काए । पउल पोग्बाले ७५ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–१ ले अगाडि राखे ।
पोग्बाको त्यो गोल उत्कृष्ट थियो, तर फ्रान्सले त्यस स्थितिबाट आफूलाई सम्हालेर राख्न सकेन । टाइब्रेकरमा स्वि्टजरल्यान्डका तर्फबाट पाँचै प्रहार गोलमा परिणत भएको थियो र टिमले ८३ वर्षयता पहिलो पल्ट ठूलो प्रतियोगिताको नकआउट चरणमा पहिलो जित निकाल्न सफल रह्यो ।
कमेन्ट गर्नुहोस्