काठमाडौँ, असार २३ गते । चीनका राष्ट्रपति सी चिनफिङले जनताको खुसी र जनताको प्रगति खोज्ने ऐतिहासिक जिम्मेवारी विश्वका सबै राजनीतिक दलहरूको रहेको बताउनुभएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव समेत रहनुभएका राष्ट्रपति सीले चिनियाँ कम्युनिस्ट पार्टी र विश्वका राजनीतिक पार्टीको सम्मेलनलाई मङ्गलबार भर्चुअल सम्बोधन गर्नुहुँदै जनताको सुखद भविष्यका लागि सबै मुलुकका राजनीतिक दलहरूले जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिनुभएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक शतवार्षिक उत्सव हर्षोल्लासपूर्वक मनाइरहेको सन्दर्भमा यो सम्मेलनको आयोजना गरिएको हो । सम्मेलनमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतको सहभागिता थियो । सम्मेलनमा विश्वका १६० भन्दा बढी देशका राजनीतिक पार्टीका नेताहरूको सहभागिता रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सम्बोधनका क्रममा राष्ट्रपति सीले भन्नुभयो, “राजनीतिक दलहरूले मानवजातिको साझा भविष्यलाई आकार दिन दिशा निर्देश गर्ने र मानवहितको साझा मूल्य मान्यता कायम गर्न सहमतिलाई अझ सुदृढ बनाउनुपर्ने जिम्मेवारी वहन गर्नुपर्छ ।”
सबै देशका जनतामा विकासको फल अझ व्यापक र अधिक समान रूपमा वितरण हुनुपर्ने औँल्याउँदै राष्ट्रपति सीले विकास सबैको अधिकार भएको र त्यो कसैको विशेषाधिकार नभएको प्रस्ट पार्नुभयो ।
कोभिड–१९ लगायतका विश्वव्यापी जोखिम र चुनौतीहरूको सामना गर्नुपर्दा आपसी सहयोगलाई सुदृढ पार्नु राजनीतिक दलहरूको थप जिम्मेवारी रहेको उहाँले बताउनुभयो ।
जनताको खुुसी खोज्ने क्षमतालाई सुदृढ पार्न राजनीतिक दलहरूले आफ्नो शासन व्यवस्थालाई सुधार गर्नुपर्नेमा राष्ट्रपति सीले जोड दिनुभयो ।
उहाँले निष्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्ने आँैल्याउँदै भन्नुभयो, “मानवीय मूल्यमा सहमति प्रवद्र्धन गर्दै अगाडि बढ्नुपर्छ । शान्ति, न्याय र स्वतन्त्रतासहितको मानवीय मूल्य निर्माण हुनुपर्छ । चीनले चिनियाँ विशेषतासहितको अधिकार नागरिकलाई दिन कन्जुस्याइँ गरेको छैन ।”
कोभिड–१९ ले विश्वलाई सताइरहेको वर्तमान अवस्थामा विश्वभरका सरकार मिलेर काम गर्नुको विकल्प छैन भन्दै उहाँले जनतालाई केन्द्रमा राखेर काम गर्नका लागि आवश्यक सहकार्यमा विश्व नेतृत्वलाई जोड दिनुभयो ।
उहाँले चीनले १५औँ जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै सहभागिताका लागि सबै मुलुकलाई अनुरोध गर्नुभयो ।
त्यस अवसरमा राजनीतिक दलका नेताहरूले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय सहकार्यलाई बढाउनुपर्ने सुझाव चीनलाई दिनु भएको थियो ।
आर्थिक पुनस्र्थापनाका लागि पनि जनताको खुसी नै सर्वोपरि हुनुपर्ने भन्दै उहाँहरूले चीनको विकास र समृद्धि विश्वमा उदाहरणीय रहेको बताउनुभयो । त्यस अवसरमा विभिन्न मुलुकका राजनेताले राष्ट्रपति सीको सराहना गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्