रोम — इटालीले युरो २०२० मा प्राप्त सफलताको मंगलबार रोममा खुसीयाली मनाएको छ । यसक्रममा खेलाडीलाई नायकका रूपमा सम्मान गरिएको थियो ।
आइतबार वेम्बलीमा भएको फाइनलमा इटालीले नाटकीय रूपमा इंग्ल्यान्डलाई टाइब्रेकरमा हराएको थियो । इटालीका राष्ट्रपति र प्रधानमन्त्री दुवैले टिमको सम्मानमा कार्यक्रम राखेका थिए । त्यसपछि खेलाडी डबल डेकर बसमा बसेर सडक यात्रामा निस्केको थियो । आमसमर्थकले भने इटालीको झण्डा बोक्दै उनीहरूको भव्य स्वागत गरेको थियो ।
वेम्बलीमा प्राप्त सफलतापछि २४ घण्टाको भावनात्मक यात्रा तय गरेर इटाली टोली स्वदेश पुगेको थियो । सुरुमै गोल खाएको इटालीले त्यसपछि खेललाई बराबरीमा ल्याउँदै टाइब्रेकर भने ३–२ को जितेको थियो । इटालीले युरो जितेको यो दोस्रो अवसर मात्र हो । सन् २०१८ को विश्वकपमा छनोट हुन असफल रहेपछि रोबर्टो मान्चिनीको इटालीले उत्कृष्ट पुनरागमन रच्दै अद्वितीय उपलब्धि हात पारेको हो । ‘यो इटालीको फुटबलको पुनर्जागरण हो,’ खेलाडी लियोनार्डो बोनुचीले भने ।
प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएका इटालीका गोलरक्षक जियानलुइजी डोनारुमाले भने, ‘हाम्रो समूह नै गज्जब रहेको छ । हामी एकअर्का खेलाडीलाई माया गर्छौं । सबैलाई थाहा छ, हामी कहाँबाट आएका हौं भनेर ।’ यसको ठीक विपरीत इंग्ल्यान्ड भने सन् १९६६ यता कुनै ठूलो प्रतियोगिता जित्ने प्रतीक्षामै कायम रह्यो । इंग्ल्यान्ड फेरि एकपल्ट पेनाल्टी सुटआउटमा असफल भएको हो । यसबीच इंग्लिस फुटबल समर्थकमाझ निराशा छाएको छ ।
पेनाल्टीमा चुमेका तीन खेलाडी मार्कस रसफोर्ड, जोडन सान्चो र बुकायो साका पछिल्लो समय आफ्नै समर्थकबाट अनलाइन दुर्व्यवहारको सिकार भएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले यो दुर्व्यवहार कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् । यस घटनालाई इंग्लिस व्यवस्थापक गारेथ साउथगेटले माफीयोग्य नभएको प्रतिक्रिया दिएका छन् । यता इटालीको टिम भने सोमबार बिहान इटाली आइपुगेको थियो ।
विमानबाट ओर्लिनेक्रममा कप्तान जर्जियो केलिनी र प्रशिक्षक रोबर्टो मान्चिनीले ट्रफी उचालेर प्रदर्शन गरेका थिए । केही हजार समर्थक बिहान सबेरै विमानस्थलमा पुगेका थिए र त्यसक्रममा टिमको स्वागत गरे । तिनीहरूले ‘हामी युरोपका च्याम्पियन हौं ।’ टिमले अब विजयी यात्रा निकाल्ने छ वा छैन भनेर प्रस्ट भएको छैन । कोरोना भाइरस संक्रमणको महामारीको डरका कारण विजयी यात्रा निकाल्ने सम्भावना कम रहेको बताइएको छ ।
महामारीले सबैभन्दा पिरोलिएको देशमा इटाली पनि पर्छ । त्यस क्रममा इटालीले १ सय २८ जनाको ज्यान गुमाएको थियो । त्यसअगाडि इटालीका प्रशिक्षक मान्चिनीले भनेका थिए, ‘इटालीका जनतालाई खुसी दिन सकेकामा हामी निकै खुसी छौं । यो सफलता निकै कठिन स्थितिमा प्राप्त भएको छ ।’ फाइनल सकिएकै रात समर्थकले मिलानदेखि पालेर्मोको सडकमा ओर्लेर खुसीयाली मनाएका थिए । यसक्रम उनीहरू महामारीबाट बच्न लागू नियम पनि बिर्सेका थिए ।
कमेन्ट गर्नुहोस्