बेइजिङ : चर्चित अभिनेता ज्याकी च्यानले चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध हुने बताएपछि उनको विरोध सुरु भएको छ। चिनियाँ सामाजिक सञ्जाल विबोमा ज्याकीको तीव्र आलोचना सुरु भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।
ज्याकीले श्रीमतीलाई धोका दिएको र उसका छोराले लागूपदार्थ सेवन गर्ने गरेका कारण उनी कम्युनिस्ट पार्टीको सदस्य बन्न योग्य नभएको भन्दै विरोध सुरु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
चाइना फिल्म एसोसिएसनले अघिल्लो बिहीबार आयोजना गरेको कार्यक्रममा ज्याकीले आफूलाई चिनियाँ हुनुमा गर्व लागेको बताएका थिए। उनले आफ्नो मन्तव्यका क्रममा आफू चिनियाँ कम्युनिस्ट पार्टीमा आबद्ध हुन लालायित भएको जनाएका थिए। उनले कम्युनिस्ट पार्टीले सोचेको र वाचा गरेको कुरा पूरा भएको देखेर आफूलाई पनि राजनीतिमा लाग्ने इच्छा भएको बताएका थिए।
‘जब म विदेशमा हुन्छु। त्यतिखेर मलाई आफू चिनियाँ हुनुमा गर्व लाग्छ’, ज्याकीले कार्यक्रममा भनेका थिए, ‘तपाईहरू कम्युनिस्ट पार्टीको सदस्य भएको देख्दा मलाई ईष्र्या लाग्छ। किनभने कम्युनिस्ट पार्टीले जुन वाचा गरेको हुन्छ, त्यसलाई हमेसा पूरा गरेकै हुन्छ। त्यसैले म पनि कम्युनिस्ट पार्टीको सदस्य बन्न चाहन्छु।’
ज्याकीको उक्त भनाइपछि पश्चिमा राष्ट्रका प्रशंसक उनीसँग रुष्ट बन्ने अड्कल गरिए पनि धेरै विरोध चीन, हङकङ, चाइनिज ताइपेईलगायतका देशमा भइरहेको जनाइएको छ। खासगरी ज्याकीको विवाहोत्तर सम्बन्ध र उनका छोरा जेसी च्यान लागूऔषधको अम्मली रहेका कारण उनी कम्युनिस्ट पार्टीको सदस्य हुन योग्य नभएको भन्दै विरोध गरिरहेका छन्। हङकङमा जन्मिएका अभिनेता ज्याकी कङ्फु फिल्मका कारण संसारभर चर्चित छन्।
कमेन्ट गर्नुहोस्