काठमाडौँ — आर्मीकी धाविका सरस्वती चौधरी आमालाई सन्चो नभएपछि बिदा लिएर घर (बर्दियास्थित गेरुवा गाउँपालिका–२) पुगेकी थिइन् । राजधानी छाडेको १–२ दिनमात्रै भएको थियो । त्रिभुवन आर्मी क्ल्बबाट उनलाई फोन आयो । भनियो– तिमी ओलम्पिक खेल्ने भयौं, तुरुन्त कागजपत्र पठाऊ ।
सबै खेलाडीले ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सपना बुनेका हुन्छन् । सरस्वतीको सपना पनि कुनै दिन ओलम्पिकमा दौडने थियो । तत्कालै त्यो सपना साकार हुन्छ भन्ने उनलाई लागेको थिएन । बिदामा घर पुगेरै पनि फिटनेसका लागि अभ्यास भने गरिरहेकी थिइन् । ठ्याक्कै त्यही बेला असार १३ मा अफिसदेखि फोन गरेर ओलम्पिक खेल्न जानुपर्ने खबरले उनलाई अलमलमा पार्यो । २४ वर्षीया उनले भनिन्, ‘एक्कासि सुन्दा हो कि होइन भन्ने भयो । किनभने ओलम्पिक खेलिहाल्छु भन्ने सोचेकी थिइनँ । कतिपल्ट सोधें पनि । साँच्चै सपनाजस्तै लाग्यो । सपना हो कि विपना, छुट्याउनै गाह्रो भयो । अफिसबाट सामान सबै प्याक गरेर क्लोज क्याम्पका लागि आउनु भनेपछि चाहिँ हो नै भन्ने लाग्यो ।’
उनी सामान पोको पारेर राजधानी फर्किहालिन् । पाँचतारे होटल सोल्टीमा बसेर असार १७ देखि नै टोकियो ओलम्पिक २०२० को तयारी थालिहालिन् । विश्व खेलकुदको महाकुम्भमा यति छोटो तयारीमै देशको प्रतिनित्वि गर्न पाउने भाग्यमानी हुन् सरस्वती । उनले साउन १५ मा जापानी राजधानीस्थित ओलम्पिक रंगशालामा महिला १०० मिटर स्पर्धामा दौडनेछिन् । त्यसका लागि उनी साउन ९ गते जापानतर्फ उड्नेछिन् ।
उनको भाग्य अचम्मै तरिकाले खुलेको हो । निक्कै अचम्म । किनभने गत मंसिरमा सम्पन्न नेपालगन्ज म्याराथनका विजेता गोपीचन्द्र पार्कीलाई ‘विश्वव्यापी सहभागिता’ को कोटामा टोकियो ओलम्पिकमा पठाउने घोषणा नेपाल एथलेटिक्स संघ र नेपाल ओलम्पिक कमिटीले गरिसकेका थिए । र, गोपीचन्द्रले त्यसैअनुसार सात महिनायता लगातार तयारी गरिरहेका थिए । कोरोना भाइरसको महामारीले एक वर्ष धकेलिएको गृष्मकालीन ओलम्पिकको मुखैमा आएर गोपीको स्पर्धा (म्याराथन) मा नेपालले कोटा नपाएको र त्यसको स्थानमा महिला स्प्रिन्टमा सहभागी हुनुपर्ने बताइयो । यसैले टोकियो ओलम्पिकमा रातारात सरस्वतीको भाग्य खुलेको हो । ‘दुःख त एकदम दुःख गरेरै आएको भनौं,’ साउने झरीमा पनि दशरथ रंगशालाको ट्र्याकमा अभ्यास सकाएपछि शनिबार सरस्वतीले भनिन्, ‘दुःख गरेपछि बल्ल मान्छेले फल पाउँछ भन्छन् नि, त्यस्तै अहिले सोचिरहेकी छु । दुःख गर्नैपर्छ ।’ ५ फिट १ इन्च अग्ली उनले थपिन्, ‘म भाग्यमानी नै भनौं । भन्छन् नि केले चिरेर आएपछि कसैको केही लाग्दैन अरे । त्यही लाग्दैछ मलाई ।’
गोपीचन्द्रको ‘दुर्भाग्य’ मा पनि सरस्वतीले दुःख महसुस गरिरहेकी छन् । भन्छिन्, ‘एक हिसाबले एकदम दुःख लाग्छ किनभने मैले पहिलादेखि गोपी दाइलाई चिनेको हुँ, उहाँलाई सम्मान गर्छु, मान्छु । म दुई वर्ष एपीएफ (सशस्त्र प्रहरी बल) मा कन्ट्र्याक्टमा थिएँ । त्यसबेला दाइले मलाई सिकाउने गर्नुहुन्थ्यो । हामी एकदम नजिक थियौं । अहिले दुःख लाग्छ । मनदेखि नै सम्झिरहेकी छु । फोन गर्यो भने दाइले केही भन्ने हो जस्तो डर मनमा लागिरहन्छ । हाम्रो कोठा पनि नजिकै छ । पहिला भेट र कुरा भइरहन्थ्यो तर ओलम्पिकको तयारीमा म आएपछि दाइसँग कुरा भएको छैन, भेट भएको छैन । दुःख लाग्छ कि दाइ पहिलादेखि नै त्यसको (ओलम्पिक) तयारीमा हुनुहुन्थ्यो । मैले आफूले त्यस्तो गरेको होइन ।’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ५ हजार मिटरका स्वर्णपदक विजेता गोपीचन्द्र एकाएक हटाइँदा एथलेटिक्स संघ र ओलम्पिक कमिटीको खुबै आलोचना भयो । यसबीच के पक्का भयो भने सरस्वती टोकियोमा प्रतिस्पर्धा गर्न जाँदै छिन्, गोपीचन्द्र स्वदेशमै छुट्दैछन् । सरस्वती पनि झन्डै दुई वर्षअघि नेपालमै आयोजित १३ औं सागमा सहभागी भएकी थिइन् । उनी १ सय मिटर दौडमा १२.५५ सेकेन्डसाथ पाँचौं भएकी थिइन् ।
उनले १२ औं साग २०१६ (गुवाहाटी–सिलोङ), विश्व एथलेटिक्स च्याम्पियनसिप २०१९ (दोहा) र मिलिटरी वर्ल्ड गेम्स २०१९ (वुहान) मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । मिलिटरी गेम्समा उनले १ सय मिटर १२.४४ सेकेन्डमा पूरा गरेकी थिइन्, जुन उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो । विश्व एथलेटिक्समा १२.७२ सेकेन्ड लगाएकी उनले सिनियरमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा रहेको पाँच वर्षअघिको सागमा १३.९० सेकेन्ड लगाएकी थिइन् । त्यही विश्व च्याम्पियनसिपमा सहभागी भएको आधारमा उनले टोकियो ओलम्पिकमा अवसर पाएको राष्ट्रिय खेलकुद परिषद्का एथलेटिक्स मुख्य प्रशिक्षक चन्द्र गुरुङ बताउँछन् । सरस्वतीलाई ओलम्पिकमा दौडाउन उनीसँगै इन्द्रकुमारी मल्लले प्रशिक्षण गराइरहेका छन् ।
‘टोकियोमा व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेकी छु,’ सरस्वतीले भनिन्, ‘राष्ट्रिय कीर्तिमान बनाउने प्रयास गर्नेछु ।’ महिला १ सय मिटरको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा छ । उनले आठौं साफ खेलकुद १९९९ (काठमाडौं) मा १२.२० सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।
जुनियर प्रतियोगितामा थुप्रै कीर्तिमान बनाएकी सरस्वतीले २०७१ सालमा भएको लुम्बिनी च्याम्पियनसिपमा कांस्य पदक जित्दै उत्कृष्ट रूपमा सिनियरमा डेब्यु गरेकी थिइन् । त्यसको तीन वर्षपछि इटहरीमा भएको राखेप च्याम्पियनसिप २०७४ सालमा १ सय मिटरको स्वर्ण नै कब्जा गरिन् । त्यही दिनदेखि नै उनी नेपाली सेनामा आबद्ध भइन् । त्यसयता स्प्रिन्टमा उनी दोस्रो हुनुपरेको छैन । अर्थात् उनी चार वर्षयता सबैभन्दा तीव्र गतिमा दौडने नेपाली महिला हुन् । त्यसैले टोकियो ओलम्पिकमा उनको भाग्य खुलेको हुन सक्छ ।
कमेन्ट गर्नुहोस्