काठमाडौं, साउन ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । वार्ताको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको खोप चाँडै आपूर्ति गर्ने आश्वासन दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले बधाई दिनका लागि फाेन गर्नुभएकाे र साे क्रममा प्रधानमन्त्री देउवाले नेपालले पाउन बाँकी खाेप चाँडाे पठाउन पहल गर्न आग्रह गर्नुभएकाे प्रम देउवाका स्वकीय सचिव भानु देउवाले बताउनुभयाे ।
प्रधानमन्त्री देउवा र मोदीबीच आज अपराह्न टोलिफोन वार्ता भएको जानकारी प्रधानमन्त्री देउवाको आधिकारिक ट्वीटरमार्फत पनि साझा गरिएको छ । प्रधानमन्त्री देउवाले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई अझै बढी सुदृढ बनाउनुपर्ने विचार आदानप्रदान भएको बताउनुभएको छ ।
मोदीले यसअघि आइतबार राति ट्वीटरबाटै प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा देउवालाई बधाई तथा शुभकामना दिनुभएको थियो । आज अपराह्न भने टेलिफोन गरेर बधाई दिनुभएको हो ।
भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएको थियो । लगत्तै नेपालले कोभिशिल्डको २० लाख खोप खरिद गर्ने सम्झौता गर्न पुग्यो । उक्त खरिद खोपमध्ये पहिलो खेपको खोप आइपुग्दा दोस्रो खेप अझै आइपुगेको छैन । जसले गर्दा खोप अभियान प्रभावित बन्न पुगेको छ । टेलिफोन वार्ताको क्रममा भारतीय प्रधानमन्त्री मोदीले खोप आपूर्ति छिट्टै गर्ने आश्वासन दिनुभएको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्