काठमाडौँ, साउन ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद)को अवसरमा नेपाली मुसलमानहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मुस्लिम समुदायको ठूलो चाडका रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ ।
राष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, “यस पर्वले सबै नेपालीबीच आपसी सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।”
राष्ट्रपतिले कोरोना सङ्क्रमणबाट बचेर सावधानीका साथ यो पर्व मनाउनु हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । नेपाल सरकारले यस पर्वको अवसरमा बुधबार राष्ट्रिय बिदा मनाउने निर्णय गरेको छ ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुभएको शुभकामना सन्देशमा सबै नेपाली मुस्लिम समुदायको उन्नति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । उहाँले कोभिड–१९ को महामारीका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै यस महान् पर्वलाई सजगताका साथ मनाउन हुन आग्रह पनि गर्नुभएको छ ।
प्रधानमन्त्रीले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावरणलाई अझ बलियो बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस चाडले नेपाली जनसमुदायमा आपसी भ्रातृत्व, मित्रता, सामाजिक सद्भाव र एकता कायम गरी देशको समृद्धिको यात्रामा प्रेरणा प्रदान गर्ने छ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्