काठमाडौं, साउन ७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर जानुपर्ने ठाउँमा केही महत्वकांक्षी र अवरवादी तत्वका कारण आज कम्युनिष्ट पार्टीमा समस्या आएको बताउनुभएको छ ।
पुष्पलालको ४३ औं स्मृति विदसको अवसरमा विहीबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । नेपालको कम्युनिष्ट आन्दोलन पछि पर्नुका कारण व्यक्तिगत टकराव, कुण्ठा र ईश्या रहेको उहाँले बताउनुभयो । पार्टीको दोस्रो महाधिवेशनदेखि जालझेल र तिकडम बढेको पनि उहाँले चर्चा गर्नुभयो ।
“वैचारिक लिडरलाई के गरेर रोक्न सकिन्छ, त्यतातिर जालझेल भयो, पुष्पलालविरुद्ध पनि त्यही भयो” उहाँले भन्नुभयो । विकृत विचार, सोच र स्वार्थका कारण कम्युनिष्ट पार्टी समस्यामा पर्दैआएको बताउनुहुँदै अध्यक्ष ओलीले अहिलेको अवस्था पनि त्यही रहेको बताउनुभयो ।
पुष्पलालले अगाडि सार्नुभएको विचार अहिले पनि सान्दर्भिक रहेको चर्चा गर्नुहुँदै पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, “पुष्पलालले २००६ सालमा सार्नुभएको विचार सान्दर्भिक छन्, त्यसको कार्यान्वयन गर्दैआएका छौं ।” मूलतः त्यही विचार नै मूलबाटो भएको उहाँले बताउनुभयो ।
आजको नेकपा एमाले नयाँ शिराबाट अगाडि बढ्ने चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले चिन्ता नलिन पार्टी पङ्तीलाई आग्रह गर्नुभयो । पुष्पलालले रोप्नुभएको पार्टी एकता र समृद्धिको विरुवालाई ओइलाउन नदिइने पनि उहाँले बताउनुभयो । जहाँ छन् नेपाली त्यहाँ छ नेकपा (एमाले) चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भन्नुभयो, “यो आन्दोलन कर्कलाको पातको पानीजस्तो होइन, संघर्षको मैदानबाट आएको हो, राष्ट्र निर्माणको संकल्प बोकेको आन्दोलन हो ।”
नेपालको लोकतान्त्रिक आन्दोलनको मूलधार नै कम्युनिष्ट आन्दोलन भएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई प्रतिक्रियावादीहरुले अनेक प्रपञ्च रचेर ढालेको टिप्पणी गर्नुभयो । “सरकार ढले पनि एमाले अहिले पनि देशको प्रमुख पार्टी हो, अरुसँग हाम्रो तुलना हुँदैन” उहाँले भन्नुभयो । बाटो विराएका नेताहरुलाई मिलेर काम गर्न अध्यक्ष ओलीले आव्हान गर्नुभयो । एकजुट भएर अघि बढेमात्र पुष्पलालको सपना साकार हुने उहाँले चर्चा गर्नुभयो ।
स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ले लोकतान्त्रिक आन्दोलनका निम्ति पुष्पलालले जीवनभर योगदान गर्नुभएको बताउनुभयो । लोकतन्त्रको रक्षा र अग्रगमनको संकल्प नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने पनि उहाँले बताउनुभयो । कम्युनिष्ट पार्टीको पुनरनिर्माण अव नयाँ सिराबाट अगाडि बढाउन आवश्यक रहेको पनि उहाँले चर्चा गर्नुभयो ।
पार्टीमा अन्तरसंघर्ष हुनु स्वभाविक भए पनि नेता माधवकुमार नेपाल पक्षले पार्टीप्रति अपरोध गरेको उहाँले बताउनुभयो । “अन्तरसंघर्ष र षडयन्त्र फरक कुरा हो, वैचारिक संघर्ष गर्दा पार्टीमा विकास र नयाँ निर्माण हुन्छ” उहाँले भन्नुभयो । पार्टीभित्रको अन्तर संघर्ष अहिले वर्ग संघर्षमा परिणत भइसकेको बताउनुहुँदै नेता बादलले सही विचारको आधारमा पार्टीलाई पुनरनिर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
संविधानको धारा ७६ उपधारा ५ निर्दलीयताको बाटो खोलेकाले त्यस धारालाई संशोधन गर्न आवश्यक रहेको पनि नेता बादलले बताउनुभयो । पार्टीमा अहिले शुद्धीकरण अभियान शुरुभएको बताउनुहुँदै नेता बादलले विचार र सिद्धान्तबाट विचलित भएकाहरु पार्टीबाट अलग भएर गएको उहाँले चर्चा गर्नुभयो । लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाई संस्थागत गर्न सबै लाग्नुपर्ने उहाँले बताउनुभयो ।
समाजवाद स्थापनाका लागि पनि लोकतन्त्र संस्थागत आवश्यक रहेको बताउनुहुँदै नेता बादलले भन्नुभयो, “पुष्पलालको सपना साकार गर्न पनि हामी त्यो बाटोबाट हिड्न जरुरी छ ।” पार्टीको नीति र सिद्धान्तअनुसार अघि बढ्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
कमेन्ट गर्नुहोस्