काठमाडौं, साउन ८ गते । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिनुभएको राजीनामा फिर्ता लिनुभएको छ । पार्टी नेता, कार्यकर्ता तथा जनताको व्यापक आग्रहको कदर गर्दै आफूले आज शुक्रबार राजिनामा फिर्ता लिएको अनलाइनलाई जानकारी दिनुभयो ।
नेपालको राजनीति विकृत हुँदै गएको र त्यसलाई विधि पद्धति र प्रक्रियामा ल्याउन आफूले दवावस्वरुप प्रतिनिधिसभा सदस्यबाट राजिनामा दिने निर्णय गर्दै साउन ३ गते आइतबार सभामुख अग्नीप्रसाद सापकोटाको कार्यकक्षमै गएर राजिनामा बुझाएको उहाँले बताउनुभयो । तर राजिनामा स्वीकृत नभएपछि सबैको आग्रहअनुसार राजिनामा फिर्ता लिएको उहाँले जानकारी दिनुभयो ।
अझै पनि देशको राजनीति सही बाटोमा हिड्नुपर्छ, देश र जनतालाई केन्द्रमा राखेर राजनीति अघि बढ्नुपर्छ भन्ने मान्यतामा आफू अडिग रहेको र आगामी दिनमा त्यसकैलागि आफूले भूमिका निर्वाह गर्ने पनि नेता रावलले बताउनुभयो । एमाले भित्रको आन्तरिक समस्यालाई समाधान गरी पार्टी एकता गर्नुको विकल्प नरहेको भन्दै उहाँले पार्टी एक हुन नसके देश र जनतालाई समस्या पर्ने बताउनुभयो । आफूले पार्टी एकताका लागि थप जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने बताउनुभयो ।
नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आइतबार प्रतिनिधिसभा बाट विश्वासको मत लिने बेलामा पक्षमा मत दिने कि नदिने बारेमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुरा नमिलेपछि उपाध्यक्ष रावल पदबाट राजिनामा दिनुभएको थियो । एमालेद्वारा गठित कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनको पक्षमा उहाँ उभिनुभएको थियो । तर वरिष्ठ नेता नेपालले सहमतिमा असन्तुष्टि जनाउनुभएपछि नेता रावल आवेगमा आएर पदबाट राजिनामा दिनुभएको थियो
कमेन्ट गर्नुहोस्