काठमाडौं, साउन १५ गते । नेपालको ओलम्पिक यात्रा सकिएको छ । जापानमा जारी ग्रीष्मकालीन ओलम्पिकमा नेपाली एथलेटिक्स सरस्वती चौधरी प्रारम्भिक चरणबाटै बाहिरिएपछि नेपालको ओलम्पिक यात्रा सकिएको हो ।
नेपालबाट १० मिटर शूटिङ्गमा कल्पना परियार, पौडीमा एक सय मिटर फ्रि स्टाइलमा महिलातर्फ गौरिका सिंह र पुरुष तर्फ एलेक्जेण्डर शाह, जुडोमा महिला ४८ केजी तौलतर्फ सोनिया भट्ट र एथलेटिक्समा महिला १०० मिटर दौडमा सरस्वती चौधरीले स्पर्धा गर्नुभएको थियो । आज बिहान सम्पन्न १०० मिटर दौडको प्रारम्भिक चरणको हिटमा सरस्वती पूछारबाट दोस्रो हुनुभयो । स्पर्धामा नौ जना खेलाडी सहभागि थिए ।
सरस्वतीले आफ्नो राष्ट्रिय कीर्तिमान समेत सुधार गर्न सक्नुभएन । उहाँले एक सय मिटरको दूरी १२.९१ सेकेण्डमा पुरा गर्नुभयो । पूछारमा पर्नुभएकी सऊदी अरेबियाकी खेलाडीले उक्त दूरी तय गर्न १३.३४ सेकेण्ड लगाउनुभयो । सन् २०१९ मा काठमाडौंमा सम्पन्न १३ औं साग खेलकूदमा सरस्वतीले एक सय मिटरको दूरी १२.५५ सेकेण्डमा पुरा गर्नुभएको थियो । दोहा, कतारमा सन् २०१९ मा सम्पन्न विश्व एथ्लेटिक्स च्याम्पियनशीपमा सरस्वतीले एक सय मिटरको दौड १२.७२ सेकेण्डमा पुरा गर्नुभएको थियो ।
दोस्रो हिटमा इरानकी फर्जानेह फैसिहीले ११.७६ सेकेण्डमा दूरी पार गर्दै पहिलो स्थानमा रहनुभयो । मलेसियाकी नबिला एलियास दोस्रो स्थानमा रहनुभयो । उहाँले ब्यक्तिगत् प्रदर्शनमा सुधार गर्नुका साथै पहिलो राउण्डका लागि छनोट हुनुभयो । कुवेतकी अलशम्मारी तेस्रो भई पहिलो राउण्डमा छनोट हुनुभयो ।
सरस्वती यूनिभर्सल कोटामा टोकियो ओलम्पिकमा सहभागि हुनुभएको थियो । प्रारम्भिक चरणमा तीन हिटमध्ये नसरस्वती चौधरी दोस्रो हिटमा हुनुहुन्थ्यो । खेलाडीले स्पर्धा गरेका थिए । हरेक हिटका शीर्ष तीन र एक उत्कृष्ट समय निकाल्ने खेलाडी प्रथम राउन्डका लागि छनोट भएका छन् ।
कमेन्ट गर्नुहोस्