काठमाडौँ, साउन २७ गते । कानुन, न्याय र संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मानव स्वास्थ्य सुरक्षा र खाद्य स्वच्छताको गुणस्तरको नयाँ मापदण्ड निर्धारण गरिएको बताउनुभएको छ । त्यसका लागि छुट्टै नियमनकारी निकायको निर्माण गरिने उहाँको भनाइ छ ।
मङ्गलबार राष्ट्रिय सभाको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित गराउने सन्दर्भमा उहाँले भन्नुभयो–“विधेयकमा प्रदेश र स्थानीय तहले नियमन गर्ने व्यवस्था गरिएको छ ।” बैठकले स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक २०७६ पारित गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट मन्त्री कार्कीले सार्वजनिक सेवा प्रसारण विधेयक सभामा पेस गर्नुभयो । त्यस्तै, विधायक व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले रेलवे विधेयक, २०७६ सभामा पेस गर्नुभयो ।
बैठकको विशेष समयमा बोल्ने सांसदहरूले कोरोना महामारी नियन्त्रण, खोप व्यवस्थापन, बाढी पहिरो प्रभावित परिवारलाई राहतलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद तारादेवी भट्टले सरकारको न्यूनतम साझा कार्यक्रम नागरिकको जीवन रक्षा, सुशासन र शान्ति प्रक्रिया सम्बोधन गर्ने गरी आएको दाबी गर्नुभयो ।
सांसद विमला घिमिरेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनामा सरकार उदासीन रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाको छानबिन छिटो होस्, दोषीलाई कारबाही र पीडित परिवारलाई राहतको व्यवस्था सरकारले तत्काल गर्नुपर्छ ।”
सांसद मायाप्रसाद शर्माले सर्वस्वीकार्य भूमि आयोग बनाएर सरकारले अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्नुपर्छ तर सांसद खिमलाल भटट्राईले भन्नुभयो, “काँगे्रसले भूमि आयोग गठन गर्न र सुकुम्बासी समस्या समाधान गर्न सक्दैन ।” सांसद तुलसीकुमारी दाहालले जनता आवास कार्यक्रममा प्रदेश–२ का सबै दलित तथा मुसहर र दसगजा क्षेत्रमा बस्दै आएका गरिब परिवारलाई समेट्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद उदया शर्मा पौडेलले कार्यस्थलमा हुने लैङ्गिक हिंसाको अन्त्य गर्न ध्यानाकर्षण गराउनुभयो । सांसद ठगेन्द्रप्रकाश पुरीले कोरोना महामारीको चेपुवामा परेका जनता तथा बीमा गरेका बीमितलाई अविलम्ब बीमाबापतको रकम उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । नागरिकता विधेयक अविलम्ब अगाडि बढाउन उहाँले माग गर्नुभयो ।
सांसद रमेशजङ्ग रायमाझीले सरकारले जनताको समस्या व्यवस्थित र पारदर्शी ढङ्गले सम्बोधन गर्न साझा कार्यक्रम ल्याएको चर्चा गर्नुभयो । बैठकमा सांसद आगमप्रसाद बान्तवा राई, कोमल वली, रामनारायण बिडारी, प्रकाश पन्त, अनिता देवकोटा, गङ्गाकुमारी बेलवासे, डा. विमला राई पौडेल, खिमलाल देवकोटालगायतका सांसदले प्रस्तुत विधेयकमाथि आफ्नो धारणा राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्