काठमाडौं : वर्ल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले मध्यम प्रदर्शन गरेका छन्। केन्याको नौरबीमा बुधबार भएको पुरुष तीन हजार मिटर दौडमा अजितले व्यक्तिगत प्रदर्शन भने सुधार गर्न सकेनन्।
अजितले निर्धारित दुरी नौ मिनेट १५.२७ सकेन्डमा पूरा गरेका थिए। १६ खेलाडी सहभागी प्रतिस्पर्धामा अजित १४औं स्थानमा रहे। लामो समय बिरामी भएर पूर्ण रुपमा ठिक भइनसकेकाले दौड पूरा गर्नु नै महत्वपूर्ण भएको उनका प्रशिक्षक धनीराम चौधरीले बताए। ‘अजितले सोचेभन्दा राम्रो प्रदर्शन गरे। उनी पूर्ण रुपमा फिट थिएनन्’, प्रशिक्षक चौधरीले भने, ‘दौड पूरा गर्दैनन् कि जस्तो लागेको थियो। तर, उनले दौड पूरा गरे।’
उनले लामो तयारी गर्न नपाएको र अजित पनि बिरामी भएकाले सोचे अनुरुपकै नतिजा आएको जानकारी दिए। ‘केन्या आउनु अघि उनी बिरामी थिए। औषधि खाएर केन्या आएका थिए्’, प्रशिक्षक चौधरीले भने, ‘यहाँको अल्टिच्युट पनि धेरै रहेछ। यी सबै कारणका बाबजुद पनि उनले दौड पूरा गर्न सफल भए।’
सन् २०१९ मा हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा उनले तीन हजार मिटरमा स्वर्ण जितेका थिए। हङकङमा उनले निर्धारित दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए। अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका थिए। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले आठ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए। तीन हजार मिटर दौडको सिनियरमा भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ। सन् १९९९ मा भारतको नयाँ दिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा उनले आठ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान बनाएका थिए।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो। ४५ वर्षअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य पदक जितेका थिए। त्यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो। एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेको आधारमा अजित विश्व च्याम्पियनसिपमा छनोट भएका हुन् । अजितले यसै महिना भारतको पञ्जाबमा भएको १९औं यू–२० फेडेरेसन कप (अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिप) मा सहभागिता जनाएका थिए।
कमेन्ट गर्नुहोस्