काठमाडौं, भदौ ८ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक दिउँसो ३ बजेसम्मको लागि सरेको छ । मङ्गलबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक थप तयारीका लागि दिउँसो ३ बजे सार्नुपरेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।
आजको एमाले स्थायी कमिटी बैठकमा पार्टी एकताका लागि तयार गरिएको दशबुँदे सहमतिपत्र कार्यान्वयन गर्दै २०७५ जेठ २ गतेकै पूर्ववत् अवस्थामा पार्टीलाई अगाडि बढाइने जनाइएको छ । एमाले औपचारिक विभाजन भएसँगै वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा छ । तर विभाजनलाई साथ दिन नसकिएको भन्दै पार्टी एकताको कार्यदलमा रहनुभएका लगायत एकता पक्षधरका नेताहरु भने नेपाल नेतृत्वको नयाँ दलमा सहभागी हुनुभएको छैन ।
एकता पक्षधरका नेताहरुद्धारा एमाले अध्यक्ष ओलीलाई दशबुँदे सहमतिपत्र कार्यान्वयनका लागि मङ्गलबारसम्मको समयसीमा दिइएको थियो । अध्यक्ष ओली लगायत नेपाल समूहलाई साथ नदिएका मध्यमार्गी नेताहरुबीच हिजो सोमबार बालकोटमा भएको बैठकपछि मध्यमार्गी नेताहरु नेकपा एमालेमा नै रहने देखिएको छ । एमालेको आज बस्ने स्थायी कमिटीको बैठकमा विगतमा अनुपस्थित रहदै आउनुभएका सदस्यहरु समेत सहभागी हुनुहुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्