एजेन्सी — हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो ।
ग्रीष्मकालीन ओलम्पिक १९६० (रोम) देखि यसैको आयोजक सहरले ‘गृष्मकालीन पारा ओलम्पिक’ नियमित रूपमा सञ्चालन गरिरहेको छ । कोरोना भाइरसको महामारीले एक वर्ष ढिला भएको पारा ओलम्पिकमा १६२ देशका विशेष क्षमता भएका ४ हजार ४ सय ३ खेलाडीले सेप्टेम्बर ५ सम्म प्रतिस्पर्धा गर्नेछन् । १६ औं संस्करणमा २२ खेल समावेश छ । त्यसमा ब्याडमिन्टन र तेक्वान्दो नयाँ खेल हुन् । कुल ५३७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
यसपालि नेपालको एकमात्र खेलाडीका रूपमा पलेशा गोबर्धन सहभागी भएकी छन् । तेक्वान्दोकी यी खेलाडीले भदौ १८ मा प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षक कविराज नेगी लामाले पलेशाले पदक जित्ने आशा गरेका छन् ।
कमेन्ट गर्नुहोस्