काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले कृषि तथा वन विश्वविद्यालयले कृषि र वन क्षेत्रका लागि आवश्यक योग्य र दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा टेवा पु-याउने बताउनुभएको छ । शुक्रबार विश्वविद्यालयको नवौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा कृषि तथा वनको क्षेत्रमा विकासको पर्याप्त सम्भावना रहेकाले यस क्षेत्रमा अध्ययन अनुसन्धान गरी दक्ष जनशक्तिको उत्पादन गर्ने जिम्मेवारी विश्वविद्यालयको रहेको बताउनुभयो ।
कृषि तथा वनको क्षेत्रमा विकासको प्रचुर सम्भावना रहेकाले विश्वविद्यालयले यसको माध्यमबाट देशको विकासमा समेत योगदान गर्न सक्ने विश्वास देउवाले व्यक्त गर्नुभयो । विश्वविद्यालय शैक्षिक उन्नयन गर्ने संस्था भएकाले सक्षम शैक्षिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सुशासन तथा वित्तीय अनुशासन कायम गर्न विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशनसमेत दिनुभयो । सभामा विश्वविद्यालयका उपकुलपति डा. पुण्यप्रसाद रेग्मीले विश्वविद्यालयको अवस्थाबारे जानकारी गराउनुभएको थियो । सभाले आर्थिक वर्ष २०७८/०७९ का लागि पेस गरेको बजेट समेत पारित गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्