काठमाडौँ, भदौ १५ गते । मनसुनजन्य विपत्मा परेर थप तीन जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् । दुई जना घाइते भएका छन् । बाढी र पहिरोले विभिन्न स्थानमा घर पुरिनुका साथै स्थानीयवासीलाई विस्थापित बनाएको छ ।
नुवाकोट र दाङमा पनि अविरल वर्षापछिको बाढी र डुबानले मानव बस्तीमा क्षति पु¥याउँदा स्थानीय बासिन्दा विस्थापित भएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जानकारी दिएको छ । सोमबार तीनसहित मनसुनयता बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या यो वर्षायाममा १०० पुगेको छ । प्राकृतिक विपत्तिबाट ४४ जना बेपत्ता हुन पुगेका छन् भने १०९ जना घाइते भएका केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिनुभयो । बाढीपहिरोले ८०८ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अन्य १६९ घरमा आंशिक क्षति पुगेको छ । बारा, चितवन, नवलपरासीपूर्व, दार्चुला, नुवाकोट र सर्लाही जिल्ला सोमबार बढी प्रभावित देखिएका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार पहाडी भेगको दुहुँ गाउँपालिका–१, बासमाली र दुहुँ गाउँपालिका–५, दल्लामा भेलपहिरोमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै दुहुँकै निझ्याङ गाउँका दुई दाजुभाइ बाढीले बगाएर बेपत्ता छन् । त्यहाँ अझै पनि ४० घरपरिवार विस्थापित हुने उच्च जोखिममा छन् । त्यहाँ पुग्ने झोलुङ्गे पुल र सडकमार्गको पुल दुवै बाढीले बगाएपछि त्यहाँको गाउँ सम्पर्कविहीन हुन पुगेको छ ।
महाकाली नगरपालिकाको श्रीबगरमा १९ परिवार विस्थापित हुने अवस्थामा छन् । श्रीबगर खोला र महाकालीले दुवैतिरबाट काट्दै गरेकाले बस्ती जोखिममा परेको जानकारी उहाँले दिनुभयो । श्रीबगरका सम्भावित विस्थापितलाई आधा किलोमिटर माथि डाँडामा राख्ने तयारी भइरहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङका अनुसार ज्योतिगरमा पहिरोले सात घर पुरेको छ । चुरे पहाड खसेर बस्तीमा आइपुग्दा अन्य ५० घरमा समेत क्षति पु¥याएको छ । नजिकका अन्य बस्ती पनि जोखिममा रहेकाले निगरानी बढाइएको छ । अझै केही दिन देशका केही भूभागमा ठूलो वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका मौसमविद् सजना शाक्यका अनुसार गण्डकी, सुदूरपश्चिम र प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना छ । अन्यत्र भने मौसममा हल्का सुधार हुँदै सामान्य झरी रोकिँदै पर्दै गर्ने क्रम रहनेछ । बाढी पूर्वानुमान महाशाखाले पनि सुदूरपश्चिम भेग छोएका ठूला–साना नदीहरूमा बहाव बढ्ने भएकाले तटीय क्षेत्र र पहाडी भेगमा सतर्कता अपनाउनु जरुरी रहेको जनाएको छ ।
दुुईवटा पुल भासिए
अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको दुईवटा पुल भासिएका छन् । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा रहेको तुरिया खोलाकोे पुल र रुपन्देहीको देवदह नगरपालिकाअन्तर्गत पर्ने घोडाहा खोलाको पुल गएको शुक्रबार भासिएका हुन् ।
यी पुल भासिनुमा बाढीपहिरो मात्र नभई मानवीय क्रियाकलाप मुख्य कारण रहेको निष्कर्ष निकालिएको छ । पुल भासिँदा राजमार्गको आवागमन अवरुद्ध भएपछि गरिएको स्थलगत अनुगमन टोलीले सो निष्कर्ष निकालेको हो । पुलहरू भासिँदा अहिलेसम्म सो ठाउँमा यातायात सुचारु हुन सकेको छैन । भैरहवा, परासी हुँदै भुमही भएर वैकल्पिक रूपमा थोरै यातायात सञ्चालन गरिएको छ ।
सडक विभागअन्तर्गतको पुल महाशाखा, विभागअन्तर्गतको एसियाली विकास बैङ्क (एडीबी) निर्देशनालय र सडक डिभिजन कार्यालय बुटवलले ती दुई पुलको अनुगमन गरेका छन् । अनुगमनमा सहभागी एडीबी निर्देशनालयका प्रमुख सुशीलबाबु ढकालले ती पुलहरू पुरानो भएका र पुलमुनिको नदीजन्य सामग्रीको उत्खनन र दोहनका कारण पुल भासिएको बताउनुभयो ।
सडक सुुचारु गर्न तत्कालका लागि बेलिब्रिज र डाइभर्सन निर्माण गरी राजमार्ग सञ्चालनमा ल्याइने बताउँदै उहाँले भन्नुभयो, “तुरिया खोलामा बेलिब्रिज र घोडाहा खोलाको पुल नजिक डाइभर्सन निर्माण गरिने तयारी भइरहेको छ । बढीमा एक हप्ताभित्र डाइभर्सन निर्माण र दुई हप्ताभित्र बेलिब्रिज जडान भइसक्छ ।”
कमेन्ट गर्नुहोस्