काठमाडौं, भदौ १६ गते । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा हुने भएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ केही बेरमा शुरु हुन लागेको जानकारी दिनुभयो । जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा हुनुहुन्छ ।
यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रैका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।
२०६२ वैशाख १६ गते श्रीकृष्ण मावि दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा पर्नुभएको थियो भने साउन तेस्रो साता लामालाई जिउँदै खाल्डोमा पुरेको भन्दै उहाँकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिनुभएको थियो । पूर्णिमायाको जाहेरी प्रहरी नलिएपछि उहाँले सर्वोच्चमा उजुरी दिनुभएको थियो ।
सर्वोच्चले २०६४ फागुन २२ गते आदेश दिएपछि जाहेरी दर्ता भएको थियो । तर, बाबुराम भट्टराई नेतृत्वको सरकारले सपाकोटाविरुद्धको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।
यस निर्णयविरुद्ध लामाकी पत्नी फेरि सर्वोच्च अदालत पुगेकी थिइन् भने सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो । यो मुदा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । सोही मुद्दामाथि आज सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
कमेन्ट गर्नुहोस्