काठमाडौँ, भदौ १८ गते । बाढीपहिरोमा परी कास्कीको पोखरामा पाँच र दाङमा चार जना गरी नौजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चार जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
लेखनाथ समाचारदाता एकराज गिरीका अनुसार पोखरा महानगरपालिकाका छुट्टाछट्टै चार स्थानमा गएको पहिरोेमा पुरिएर पाँच जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । त्यस्तै पहिरोमा परेर पाँच जना घाइते भएका छन् । बुधबार साँझ परेको भीषण वर्षासँगै पोखरा महानगरपालिका–२०, भलामको -यालेचौरमा गएको पहिरोमा परेर चार जनाको मृत्यु भएको छ । सो घटनामा एक जना बेपत्ता भएका छन् ।
त्यस्तै सोही वडाको मूलावारी देउरालीमा ब्लकले बनेको टिनको छानो भएको एक तले कच्ची घर माथिबाट पहिरो आएर घर बगाउँदा म्याग्दी–बेनी नगरपालिका–२, ज्यामरुकोट घरभई हाल मूलावारी देउराली बस्ने वर्ष २९ की विष्णु सार्र्की र उहाँको छोरा वर्ष आठको सुजन सार्कीको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता सुभास खड्काले जानकारी दिनुभयो । त्यस्तै महानगरकै वडा नम्बर ११ को काहुँमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै पोखरा–२०, भलामको -यालेचौरमा ब्लकले बनेको एकतले घर पहिरोले पुर्दा घरधनी ४५ वर्षीय कृष्णकुमार श्रेष्ठ, उहाँकी पत्नी ३५ वर्षीया सुनुमाया तामाङ श्रेष्ठको मृत्यु भएको छ ।
कृष्णकुमारको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा र सुनुमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठकै नौ वर्षीय छोरा राजकुमार श्रेष्ठको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने तीन वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको पोखरा वडा नम्बर २० का अध्यक्ष सिम गुरुङले जानकारी दिनुभयो ।
टाउकोमा चोट लागेका राजकुमारको उपचार भइरहेको र अवस्था खतरामुक्त छ । बेपत्ता सन्तोषको हाल खोजी कार्य भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी सुभास हमालले जानकारी दिनुभयो । यता वर्षाकै कारण घर पछाडिबाट पहिरो आउँदा पोखरा–११, भञ्ज्याङ नमुना टोलस्थित ४२ वर्षीय लक्ष्य नेपालीको ब्लकले बनेको घर भत्कँदा मृत्यु भएको छ ।
घटनापछि नेपालीलाई उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएकोमा नेपालीको राति मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी हमालले जानकारी दिनुभयो ।यसैबीच पोखराका विभिन्न ठाउँमा गएको बाढी र पहिरोको क्षतिबारे पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थलगत जानकारी लिनुभएको छ ।
कमेन्ट गर्नुहोस्