काठमाडौं, भदौ २३ गते । नेकपा (एमाले) संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट कारवाही गरिएको चौध जना प्रतिनिधिसभा सांसद बैठकमा उपस्थित भए संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ ।
एमाले संसदीय दलको आज बुधबार विहान नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको बैठकमा अध्यक्ष ओलीले सो चेतावनी दिनुभएको हो । एमालेको तर्फबाट कारवाही गरिएका सांसदहरुको सूची भदौ १ गते नै संघीय संसद सचिवालयमा लिखित जानकारी गराइएको भए पनि कारवाही नभएकाे भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सो चेतावनी दिएको हो ।
एमालेले नेता माधवकुमार नेपालसहितका चौध सांसदलाई पार्टीको तर्फबाट कारवाही गरेको थियो । सो सूचना निर्वाचन आयोगमा समेत जानकारी गराउँदा पनि दल फुटाउने काम भएको भन्दै एमाले आक्रोशित भएको छ । गत साउन २५ गतेको बैठकबाट कारवाही गरिएका सांसदलाई आजको बैठकमा सहभागी हुन नमिल्ने, यदि सहभागी भएमा बैठक अवरुद्ध गर्ने निर्णय एमालेले गरेको छ ।
चौध सांसदलाई कारवाही नभएमा माओवादी केन्द्रबाट कारवाहीमा परेका सांसदहरुको पनि कारवाही खारेज गरिनुपर्ने माग एमालेको छ । बैठकमा अध्यक्ष ओलीले पार्टीको निर्देशनअनुसार सांसदहरुलाई बैठकमा भूमिका खेल्न निर्देश गर्नुभयो ।
एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्र आएको समस्याले गलत सन्देश गएकाले एकतावद्ध भएर अघि बढ्न सांसदहरुलाई आग्रह गर्नुभयो । एक समूह अलग भए पनि एमाले अझै एकतावद्ध भएर अघि बढे शक्ति सञ्जय आर्जन गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै, मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का प्रावधान देशप्रति घातगर्ने खालको भएकाले स्वीकार गर्न नसकिने बताउनुभयो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एमाले फुटाउन अनेक षडयन्त्र भएको बताउनुभयो । सत्तापक्ष गठबन्धनले एमालेलाई कमजोर बनाउन लागिपरेकाले सचेत हुन सबै सांसदलाई सचेत गराउनुभयो । एमाले फुटाउनकै लागि सरकारले २० प्रतिशतको प्रावधानसहितको अध्यादेश आएको तर त्यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँले चर्चा गर्नुभयो । पार्टीले निर्वाचन आयोग, सभामुखविरुद्ध सर्वोच्चमा रिट दायर गरेको आउने २८ गते त्यसको पुनः सुनुवाई हुने बताउनुभयो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईकाअनुसार एमालेले चौध सांसदको कारवाहीको विषय, एमसीसी, जयसिंह धामीको घटनाबारे सरकारले गरेको लापरवाही र निर्वाचन आयोगले खेलेको गलत भूमिकाको विषयलाई लिएर एमालेले सदन अवरुद गर्ने जानकारी दिनुभयो । एमालेले सो बारेमा सर्वोच्चमा रिट पनि दायर गरेको छ ।
कमेन्ट गर्नुहोस्