विराटनगर, भदौ २७ गते । कोभिड–१९ सङ्क्रमणले गत वैशाखदेखि बन्द रहेका विराटनगरका होटल प्रदेश लोकसेवा आयोगको परीक्षामा सहभागी हुन आउनेबाट खचाखच भरिएका छन् । गत वैशाखयता प्रायः बन्द रहेका होटलहरू परीक्षा दिन आउने परीक्षार्थीले बुक गरेपछि असोज १ सम्मलाई ‘प्याक’ भएका हुन् । ‘टाइट–टाइट नै छ’ होटल एसोसिएसन नेपाल, प्रदेश १ का संयोजक राजन श्रेष्ठले भन्नुभयो, “एकै पटक धेरै सङ्ख्याको व्यवस्थापन गर्नुपर्ने अवस्था आएको छ । ” आउने र जाने क्रमसँगै यो साताभरि नै होटल बुक भएको श्रेष्ठले जानकारी दिनुभयो ।
प्रदेश लोकसेवा आयोगले यो साताभर नै विभिन्न परीक्षा गर्दै छ । प्रदेश लोकसेवा आयोगका सूचना अधिकारी केदारनाथ रिजालका अनुसार यो साता विभिन्न पदका लागि छवटा परीक्षा सञ्चालन गरिनेछन् । शुक्रबार कृषि सेवा, मत्स्य समूह चौथो तहको परीक्षा आयोजना हुने भएपछि बुधबारदेखि नै परीक्षार्थीले विराटनगरका होटल बुक गरेर बसेका छन् । पहिलोे परीक्षामा छ हजार ८०३ परीक्षार्थी सहभागी हुने सूचना अधिकारी रिजालले जानकारी दिनुभयो ।भदौ २५ देखि असोज १ सम्म विभिन्न चरणका परीक्षा आयोजना हुने भएपछि त्यसको प्रभाव विराटनगरका होटलमा देखिएको हो । भदौ २६, २९, ३०, ३१ र असोज १ सम्म लोकसेवा आयोगद्वारा लिइने विभिन्न पदको परीक्षाका लागि परीक्षार्थी आउने र जाने क्रम जारी रहने भएपछि होटलहरूले कोरोनापछि पहिलो राहत परीक्षार्थीबाट पाउने भएका हुन् । आयोगले यसबाहेक विभिन्न चरणका १७ वटा परीक्षा चालू आर्थिक वर्षमा गरिसक्ने तयारी गरेको छ । विराटनगर मात्रै नभई नजिकका पालिकाहरू बूढीगङ्गासहित सुनसरीको इटहरीका होटलमा समेत परीक्षार्थी बसेका छन् । फर्कने स्थानबाट आउने र परीक्षा दिएर फर्कनेको सङ्ख्यासमेत उत्तिकै रहेको छ । विराटनगरका विभिन्न परीक्षा केन्द्रमा एक साताभरि नै परीक्षा आयोजना गरिने भएको छ ।
धेरैपछि विराटनगरका होटलमा सेवाग्राहीको चपलपहल बढेको छ, संयोजक श्रेष्ठले भन्नुभयो, “कुनैकुनै टोलीमा सात÷आठ जनासम्म पनि एउटै कोठामा बसेका छन् । यो साताभरि विराटनगरका होटलमा ५० हजारभन्दा बढी परीक्षार्थी बस्ने अनुमान गरिएको संयोजक श्रेष्ठको भनाइ छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेका कारण होटलहरूले भरसक परीक्षार्थीलाई बाहिर निस्केर हिँडडुल गर्दा सावधानी अपनाउन आग्रह गरेका छन् । आफ्ना साथीबाहेक अन्यसँग भेटघाट गर्दा सावधानी अपनाउन र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नका लागि भन्ने गरिएको श्रेष्ठले बताउनुभयो ।
विराटनगरका पर्यटकीयस्तरका ठूला होटलदेखि मझौला तथा साना होटलमा समेत परीक्षार्थी बसेका छन् । खाना खुवाउने साना होटलहरूमा समेत खाना खानेको सङ्ख्या उत्तिकै रहेको छ । होटलहरूले स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाइपूर्वक पालना गर्न गराउने भएको छ । देशभरिबाटै परीक्षार्थी सहभागी हुने भएका कारण जोखिम न्यूनीकरणका लागि आफ्ना स्टाफलाई सतर्क रहन भनिएको छ ।
कमेन्ट गर्नुहोस्