चितवन, भदौ २९ गते । माछा पालनतर्फ किसानको आकर्षक बढेपछि नव प्रवेशीलाई चितवनमा जग्गा अभाव भएको छ । कृषि अन्तरगत अन्य व्यवसाय भन्दा माछापालन सुरक्षित र नाफा धेरै हुने भन्दै यसमा नवप्रवेशी किसानको आकर्षण वृद्धि भएपछि जग्गा अभाव हुन थालेको हो । माछा पालन गर्न आउने नयाँ किसानदेखि पालन गर्दै आएकालाई थप जग्गाको अभाव भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका मत्स्य विकास अधिकृत डाक्टर प्रभात न्यौपानलेले सजिलै जग्गा पाउने अवस्था नभएको बताउनु भयो ।
‘केही वर्ष अगाडि माछा पालन गर्नको लागि किसानलाई दवाव दिनु पर्ने अवस्था थियो अहिले त्यस्तो छैन’ उहाले भन्नुभयो ‘पालन गर्दै आएका किसानदेखि नव प्रवेशीहरुले समेत जग्गा पाउन सकेका छैनन् ।’ तीन वर्ष यता तीनसय ५० हेक्टर क्षेत्रफल माछापोखरी वृद्धि भएको कार्यालयको तथ्याङकमा उल्लेख छ । करिव दुइवर्षदेखि भएको लकडाउनमा समेत माछाको बजारमा ठुलो समस्या नआएकाले यसतर्फ किसानको आकर्षण बढेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका प्राविधिक सहायक भिमदत्त भट्टले भन्नुभयो ‘माछाको लागि जिल्लामा चावटा ब्लकनै खडा भएकाले व्यवसायिक रुपमा माछापालन गर्ने किसानको चासो बढेको छ ।’ जिल्लाको माडी, पश्चिम चितवनको जगतपुर, शंकरचोक, मंगलपुर, गितानगर, पूर्वी चितवनको खैरहनी, राप्ती र रत्ननगर नगरपालिका क्षेत्रमा व्यवसायिक रुपमा माछापालन हुदै आएको छ ।
नयाँ पोखरी खन्नको लागि सरकारले अनुदानको समेत व्यवस्था गरेकाले माछा पालनमा व्यवसायिकता बृद्धि भएको हो । अध्ययन सकेर जागिर भन्दा व्यवसायमा प्रवेश गर्न खोज्नु भएको भरतपुर महानगरपालिका वडा नं. १० का डाक्टर आशिष ढकालले भन्नुभयो माछासंगै वंगुर पालन गर्न जग्गा खोजेको भेटिएको छैन । जागिर खान वा विदेश जान भन्दा स्वदेशमा नै केही गरौ भनेर एक महिनादेखि जग्गा खोजेको छु भेटिएको छैन उहाले भन्नुभयो । यसै क्षेत्रमा अध्ययन गरियो अव सिप यही लगाएर केहीलाई रोजगारी दिने योजना रहेको उहाँको भनाइ छ ।
नेपाल मत्स्य व्यवसायी संघका केन्द्रीय महासचिव जोगेन्द्र महतोले नव प्रवेशीलाई सरकारले पोखरी खन्न अनुदान दिएपनि पुरानालाई मर्मत गर्नको लागि केही सहयोग नगरेको गुनासो गर्नुभयो ।
अव नयाँ पोखरी खन्ने स्थान पाउन मुस्किल छ भएकालाई मर्मत शिर्षकमा सहयोगको आवश्यकता छ । उहाँका अनुसार अन्य खेती नहुने स्थान पानीको प्रसस्त स्रोत भएको ठाउँ माछापालनका लागि चाहिने भएकाले भनेजस्तो जग्गा पाउन मुस्किल हुने गरेको जानकारी दिनुभयो । अव नयाँ पोखरी खन्नको लागि भन्दा भएका पोखरी भाडामा लिएर पालन गर्न पाउने सम्भावना भएको उहाँको भनाइ छ ।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार ११ सय हेक्टरमा अहिले व्यवसायिक माछापादन हुदै आएको छ । वार्षिक चारहजार ५०० देखि छ हजार मेट्रिक्टन माछा उत्पादन हुने गरेको छ । माछापालनमा व्यवसायिक रुपमा आवद्ध भएका किसानको सख्या एकहजार दुइसय जना भएको कार्यालयले जानकारी दिएको छ । साना व्यवसाय, घरायसी प्रयोजनका लागि पालन गर्ने, फम दर्ता नगरी माछापालन गर्नेको सख्या अझ धेरै रहेको कार्यालयले जानकारी दिएको छ । यहाँ उत्पादन भएको माछाको मुख्य बजार पोखरा र काठमाडौ हो । यस बाहेक जिल्लापनि खपतका लागि मुख्य बजार भएको व्यवसायीको भनाइ छ ।
कमेन्ट गर्नुहोस्