काठमाडौं,असोज २ गते । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका दलहरुबीच व्यवस्थापन अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउनुभएको छ । गणेशमान सिंहको २५ ओैं स्मृति दिवसको अवसरमा गणेशमान सिह फाउन्डेसन ले काठमाडौंको शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेता सिंहले मन्त्रिपरिषद विस्तारले छिट्टै पूर्णता पाउने पनि बताउनुभएको छ ।
कम्युनिष्टहरुको दुई तिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउनुहुँदै उहाँले कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गठबन्धनको निर्माण भएको बताउनुभयो । कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफल स्वरुप नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएको बताउनुहुँदै नेता सिंहले काँग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ।
नेता सिंहले पार्टीको चौधौ केन्द्रीय महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व चयन हुनुपर्ने बताउनुहुँदै विवाद भएका जिल्लाको वडा अधिवेशन लोकतान्त्रिक एवम् विधि र विधान अनुरुप हुनुपर्ने पनि बताउनुभएको छ ।
‘ पार्टी भित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढीरहेको छ । महाधिबेशन निष्पक्ष तवरबाट गर्नुपर्दछ, नेता सिंहले बताउनुभयो । यस्तै काँग्रेसको चौधौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा साझा उम्मेदवारकाे सम्भावना अझै नसकिएको भन्दैे त्यसका लागि निरन्तर छलफल भईरहेको नेता सिंहले बताउनुभएको छ । आफू भने सभापतिको उम्मेदवारबाट पछि नहट्ने उहाँँको भनाई छ ।
कार्यक्रममा उहाँले स्वर्गीय नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याउनुभएको योगदानको स्मरण गर्नुभयो । जस्तोसुकै अप्ठयारो परिस्थितिमा पनि गणेशमान सिंहले नेपाली जनाताको सेवा गर्न नछोडेको उहाँले बताउनुभयो । काँग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमुल्य योगदानलाई काँग्रेसका सबै नेता, कार्यकर्ताले सम्मान गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रममा काँग्रेस नेता राजेन्द्र कुमार केसी, केन्द्रीय सदस्य सुरेन्द्र राज पाण्डे , किरण गिरी, कांग्रेस काठमाडौ जिल्ला सभापति सबुज बानियाँ लगायत नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।
कमेन्ट गर्नुहोस्