पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ८३ सम्पन्न भएको छ। आगमी चैतमा परीक्षण उडान गर्ने लक्ष्य रहेको आयोजना प्रमुख विनेश मुनकर्मीले बताए। तर, राष्ट्रिय गौरवको विमानस्थल सञ्चालनमा ल्याउन भने समस्या देखिएको छ।
पहिलो समस्याका रूपमा विमानस्थलदेखि ३ किलोमिटरभित्र अवस्थित ल्यान्डफिल्ड साइट छ। त्यसलाई सार्न कुनै पहल छैन र पोखरा महानगरपालिकाले यसका लागि नयाँ जग्गाको पनि टुंगो लगाएको छैन। तर, महानगरले यसका लागि गठन गरेको समितिका संयोजक तथा पोखरा–१६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले आवश्यक जमिनको खोजी गरिसकेको बताए। उनले भने, ‘समितिले ल्यान्डफिल्ड साइटका लागि सम्भावित ४ ठाउँको अध्ययन गरिसकेको छ र ३÷४ दिनमा महागनरपालिकालाई सुझावसहित प्रतिवेदन बुझाउनेछ।’ विमानस्थल सञ्चालनमा आउनुभन्दा ६ महिनाअघि नै यसलाई सार्नुपर्ने विज्ञहरूको भनाइ छ।
विमानस्थल सञ्चालनमा अर्को समस्या हो, एप्रोचमा पर्ने रिट्ठेपानीस्थित डाँडोको कटान अहिलेसम्म नहुनु। विमानस्थलदेखि पूर्वतर्फको उक्त डाँडोको कटान अलिअलि भए पनि सरकारीतर्फको डाँडाका रूखको कटान सुरु भएको छैन। अझै पूरक आईईई तयार नहुँदा काम रोकिएको बताइएको छ।
डाँडा काटान गर्नुपर्ने सरकरी वन क्षेत्रमा साल, चिलाउने, कटुस, रावपार्टलगायतका साना ठूला ६ सय रूखको जंगल रहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए। यसमध्ये पोल (साना रूख) ५१५ र ठूला रूख ८४ वटा रहेको उनले जानकारी दिए।
मुनकर्मीका अनुसार अन्तर्राष्ट्रिय जहाज उडानका लागि रिट्ठेपानीको डाँडो ४० मिटर कटान गर्नुपर्ने छ।
त्यस्तै, वर्षायामको भलपानी र सिँचाइ नहर बन्नु अर्को समस्या हो। निर्माणाधीन विमानस्थलको परिसर हुँदै सिँचाइका लागि लगिएको विमानस्थलको पूर्वतर्फको नहर पटक–पटक भत्केको छ।
नहर भत्केर विजयपुर खोलाको डिल हुँदै पानी खस्दा विमानस्थलको पूर्वीभागमा पहिरो गएको छ। मुनकर्मीका अनुसार नहर व्यवस्थापनका लागि आयोजनाले मात्र नभएर सिँचाइ कार्यालय सडक विभाग, स्थानीय र प्रदेश सरकारसँग समन्वय भइरहेको छ।
विमानस्थल निर्माणको काम चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सीएएमसीईले २०१७ नोभेम्बर १ देखि काम थालेको थियो। कोरोनाका कारण निर्माण सामग्री ल्याउन, चिनियाँ प्राविधिक आउन ढिलाइलगायतका कारण १० जुलाइ २०२२ सम्म सम्पन्न गर्ने समय दिइएको छ।
निर्माणको अन्तिम चरणमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र । ि कृष्णमणि बराल
कमेन्ट गर्नुहोस्