काठमाडौं : प्रतिनिधि सभाबाट विनियोजन विधेयक पास भएको छ। एमाले सांसद्को नाराबाजीका बीच अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक, २०७८,आर्थिक विधेयक, २०७८, राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव राखेका थिए। लगत्तै सभामुख अग्नी सापकोटाले विधेयक बहुमतले पास भएको घोषणा गरे। सभामुख सापकोटाले आर्थिक विधेयक, २०७८ माथि दफावार छलफलको लागि असोज ७ गते समय तोकेका छन्।
एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। सोमबार पनि एमालेले सभामुखमाथि ‘गम्भीर’प्रश्न उठाउँदै निरन्तर संसदमा नाराबाजी गरेको थियो। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट बनेको छ। विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल मात्रले सहभागिता जनाएका थिए ।
तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो। प्रतिस्थापन विधेयक पारित नभएका कारण भदौ ३० गतेदेखि राष्ट्रिय ढुकुटीबाट सरकारले खर्च नै गर्न नपाउने स्थिति बनेको थियो।
यसैबीच सभामुख सापकोटाले असोज ७ गते २ बजे बैठक बस्ने गरी स्थगित भएको घोषणा गरेका छन्।
कमेन्ट गर्नुहोस्