असोज ६ गते । स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन सरकारले सूचिकृत गरेका स्वास्थ्य संस्थाले भुक्तानी पाउन छाडेपछि सेवा बन्द गर्न लागेका छन् । स्वास्थ्य बीमाको सेवा दिएबापत सूचिकृत स्वास्थ्य संस्थालाई सरकारले साढे तीन अर्व बढी भुक्तानी दिन बाँकी रहेको स्वास्थ्य बीमा वोर्डले जनाएको छ । यता, सरकारले स्वास्थ्य बीमा बापतको भुक्तानी नगराउँदा मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री अस्पतालले स्वास्थ्य बीमा बापतको सम्पूर्ण सेवा बन्द गरेको छ । अस्पतालका निर्देशक डा. दिपेन्द्रकुमार रैसनका अनुसार सरकारले रकम भुक्तानी गर्न नसक्दा औषधि किन्न नै समस्या भएका कारण बीमा बापतको उपचार सेवा असोज एक गतेबाट बन्द गर्नुपरेको बताउनुभयो ।
“सरकारले हामीलाई स्वास्थ्य बीमा बापतको रकम भुक्तानी नगरेको कारणले बाध्य भएर बीमा बापतको सेवा बन्द गर्नुपरेको हो”उहाँले भन्नुभयो । आफूहरुले भुक्तानी रकम उपलब्ध गराउन स्वास्थ्य बीमा बार्डलाई पत्र लेखेर पठाएको बताउनुभयो ।
दुई महिना अघिदेखि स्वास्थ्य बीमा बोर्डले भुक्तानी रकम उपलब्ध गराउने जनाउँदै आएपनि पछिल्लो समयमा भुक्तानी नआएकाले औषधि खरिदमै समस्या भएकाले सेवा बन्द गर्नुपरेको उहाँको भनाइ छ ।
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. दामोदर बसौलाले यो साताबाट नै अस्पतालहरुलाई भुक्तानी दिन सुरु गरिने बताउनुभयो । स्वास्थ्य बीमा बोर्डमै रकम अभाव र जनशक्तिको अभावका कारण पनि रकम भुक्तानीमा समस्या भएको उहाँको भनाइ छ । केही भुक्तानीहरु प्रिमियमबाट उठेको रकमबाट समाधान गरिए पनि बाँकी भुक्तानी भने केही दिनमै प्रदान गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य बीमा बार्डका अनुसार अहिले देशभर सामुदायिक, निजी र सरकारी गरी ४२९ वटा अस्पतालले स्वास्थ्य बीमासम्बन्धी सेवा प्रदान गरिरहेका छन् । जसमा साढे १३ लाख परिवार स्वास्थ्य बीमामा जोडिएका छन् भने साढे ४५ लाख नागरिक यसमा आवद्ध छन् ।
सरकारले अतिविपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरिबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बीमा रकम बापतको शुल्क तिरिदिने व्यवस्था छ ।
स्वास्थ्य समस्याको कारणले हुनसक्ने आर्थिक जोखिमलाई न्यूनीकरण गर्ने उद्धेश्यले २०७२ चैत २५ गतेबाट स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएपछि स्वास्थ्य बीमामा नागरिकहरुको आकर्षण बढ्दो छ । तर, यसको व्यवस्थापनमा भने चुनौती सिर्जना हुनेगरेको छ ।
कमेन्ट गर्नुहोस्