काठमाडौं : शेयर कारोबार मापन नेप्से परिसूचक लगातार तेस्रो दिन पनि भारी अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ। कारोबारको अघिल्लो दिन नेप्से परिसूचक ७३ अंकले घटेर २६८५.४१ अंकमा अडेको थियो।
यसदिन २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर ५ अर्ब ७४ करोड मूल्य बराबरमा खरिदबिक्री भए। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। सोमबार १ अर्ब ४ लाख ७८ हजार ६८ कित्ता शेयर ५ अर्ब १२ करोड रुपैयाँमा खरिदबिक्री भएको थियो।
कारोबारमा आएका १३ समूहको परिसूचक घटेको छ। जसमा सबैभन्दा बढी फाइनान्स समूहको परिसूचक घटेको छ। सो समूहको ७.३७ प्रतिशतले शेयर मूल्य घटेको छ। यस्तै जलविद्युतको ४.७४, लगानीको ३.९३, विकास बैंकको ३.१५, निर्जीव विमाको २.७८, व्यापारको २.६३ प्रतिशतले शेयर मूल्य घटेको छ। बाँकी अन्य समूहको पनि परिसूचक घटेको छ।
यस दिन दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। मनकामना स्मार्ट लघुवित्तय संस्था र मैलुङ खोलाको शेयरमा १० प्रतिशतले शेयर सर्किट लागेको हो। यस्तै दिन कारोबारको आधारमा कुमारी बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको १८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।
नेप्सेमा सूचिकृत कम्पनीले धमाधम लाभांश घोषणा गरेकै समयमा शेयर बजार ओरालो लागेको हो। यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै नेप्सेमा त्यसको नकारात्मक असर देखिन थालेको थियो। त्यसयताका अधिकांश दिनमा नेप्से ओरालो लाग्दै आएको हो। बजार घटबढ हुनु सामान्य पक्रिया भएपनि लामो समयसम्म निरन्तर ओरोलो लागेपछि लगानीकर्ता हतोसाहित भएका छन्।
कमेन्ट गर्नुहोस्