पेरिस — बार्सिलोना संकटकै खाल्डोमा खस्ने क्रममा च्याम्पियन्स लिग फुटबलमा टोलीलाई बेन्फिकाले हरायो भने चेल्सीमाथि युभेन्ट्सले जित हात पार्यो । तर, क्रिस्टियानो रोनाल्डोले अन्तिम क्षणमा पाएको अवसरमा म्यानचेस्टर युनाइटेडलाई जिताए ।
रोनाल्ड कोम्यानले सम्हालेको बार्सिलोना सुरुका लगातार दुई खेलमै ३–० ले हारेपछि च्याम्पियन्स लिगबाट चाँडै बाहिरिने खतरामा परेको छ । टोलीले लिस्बनमा सम्पन्न समूह ‘ई’ को खेल १० खेलाडीमा सीमित भएर अन्त्य गरेको थियो । बेन्फिकाका उरुग्वेली फरवार्ड डारविन नुनेज चुनौतीपूर्ण देखिए । सुरुमै गोल खाता खोलेका उनले दोस्रो हाफमा बल पोस्टमा प्रहार गरेका थिए । पछि उनले पेनाल्टीमा दोस्रो गोल गरे, जुन अवसर सर्जिनो डेस्टले बल हातले छोएपछि पाएको थियो । उनको दुई गोलबीचको समयमा राफा सिल्भाले पनि युरोपियन कप विनर्स कप विजेता पोर्चुगिज क्लबका लागि गोल गरेका थिए ।
बार्सिलोनाका एरिक गार्सिया रातो कार्ड बेहोर्दै मैदान छाड्न बाध्य भए । स्टाडियो डा लुजमा बार्सिलोनाले पछिल्लो २ खेलमा ११ गोल बेहोरेको हो । यसअघि यहाँ टोलीलाई बायर्न म्युनिकले सन् २०२० मा भएको क्वाटरफाइनलमा ८–२ ले हराएको थियो ।
बार्सा आफ्नो समूहको अन्तिम स्थानमा छ भने बायर्न दुई साताअघिको नोउ क्याम्पको जितलाई निरन्तरता दिँदै एलियान्ज एरिनामा डिनामो किभमाथि ५–० को जित रच्यो । रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा दुई गोल गरेसँगै वाभारियन टिमको यात्रा सहज बनाएका थिए । उनले पेनाल्टीमार्फत गोलको खाता खोलेका थिए । उनले च्याम्पियन्स लिगमा गोलसंख्या ७७ पुर्याएका छन् । यसमा उनी सर्वाधिक गोलकर्तामाझ रोनाल्डो र लियोनल मेसीभन्दा मात्रै पछाडि छन् । अरू गोल दोस्रो हाफमा सेर्गे जिनाब्री, लेरोय साने र सब्स्टिच्युट एरिक माक्सिम चोपो–मोटिङले गरेका थिए ।
बेन्फिकालाई सन् २००६ को च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुर्याएका कोम्यान बार्सिलोनाको यो हारसँगै आफ्नो पदमा अझै कमजोर भएका छन् । बार्साले पछिल्ला १७ सिजन नै हरेकपल्ट नकआउट चरणमा प्रतिस्पर्धा गरेको छ ।
युभेन्ट्सको प्रभाव
युभेन्ट्सविरुद्ध १–० ले पराजित भए पनि चेल्सीलाई अझै अन्तिम १६ मा छनोट हुने टिमका रूपमा हेरिएको छ । खेलको एकमात्र गोल फेडेरिको किजाले दोस्रो हाफको १४ सेकेन्डमै गरेका थिए ।
युरो २०२० विजेता इटालीका स्टार खेलाडी फेडेरिको बेर्नाडेचीको पासमा गोलकिपर एडुवार्डो मेन्डीलाई उछिन्दै किजाले मासिमिलानो एलेग्रीको टिमलाई समूह ‘एच’ मा लगातार दोस्रो खेल जिताएका हुन् । रोनाल्डको बाहिरिएसँगै फर्किएका एलेग्रीको नेतृत्वमा युभेन्ट्स अझै लय समात्न संघर्षरत् छ । डिफेन्डिङ च्याम्पियनविरुद्धको यो जितले उसलाई राहत दिएको छ ।
चेल्सीले जेनिथ सेन्ट पिटर्सबर्गलाई १–० ले हराएर उपाधि रक्षाको अभियान थालेको थियो । रुसी टिम माल्मोमाथि ४–० को जितसँगै फर्किएको छ । ब्राजिली टिमबाट टोकियोमा ओलम्पिक स्वर्ण जितेका क्लाउडिन्होले गोलको खाता खोलेपछि डालेर कुजायेभ, एलेक्सी सुतोरमिन र अर्का ब्राजिली वेन्डलले दोस्रो हाफमा गोल गरेका थिए ।
युनाइटेडको पुनरागमन
रोनाल्डोले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा भिल्लारियलमाथि २–१ को जित निकाल्यो । त्यसमा उनले जेसे लिङगार्डको पास उपयोग गरेर प्रतियोगितामा १ सय ३६ औं गोल गरे । यससँगै युनाइटेड जितको लयमा पनि फर्कियो । उसले पछिल्लोपल्ट बर्नमा भएको खेल योङ ब्वाइजविरुद्ध हारेको थियो । यसअघि एलेक्स टेलेसले ओले गनर सोल्सायरको टिमका लागि पहिलो गोल गरेर ६० औं मिनेटमा युनाइटेडलाई बराबरीमा पुर्याए । त्यसअघि पाको अल्कासेरको गोलमा भिल्लारियलले ५३ औं मिनेटमा अग्रता लिएको थियो । यो खेल पछिल्लो सिजनको युरोपा लिग फाइनलको पुनरावृत्ति पनि हो, जहाँ स्पेनी टिमले पेनाल्टी सुटआउटमा जित पाएको थियो ।
युनाइटेड र योङ ब्वाइज समूह ‘एफ’ मा शीर्षस्थानको एटलान्टाभन्दा पछाडि छ । एटलान्टाले माटेओ पेसिनाको गोलमा स्विस च्याम्पियनमाथि इटालीमा १–० को जित निकालेको थियो । टिनएजर जर्मन खेलाडी करिम एडेयेमीको दुई पेनाल्टी गोलमा रेडबुल साल्जबर्गले लिलेलाई २–१ ले पन्छाउँदै समूह ‘जी’ मा ४ अंक बनायो । लिलेका लागि बुराक यिल्माजले गोल गरे । सेभियाले विपक्षी मैदानमा उल्फसबर्गसँग १–१ खेल्दै अंक बाँड्यो ।
कमेन्ट गर्नुहोस्