काठमाडौं : चर्चित हास्यकलाकार मनोज गजुरेल वैवाहिक जीवनमा बाँधिएका छन्। उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस र तस्बिर राख्दै गजुरेलले आफूहरू विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन्। मनोज र मञ्जुले भक्तपुरको डोलेश्वर मन्दिरमा विवाह गरेका हुन्।
दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो। पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन्।
जीवन सँधै सरल रेखामा नहिँड्ने रहेछ भन्दै आवश्यकता महसुस भएर विवाह गरेको उनले बताएका छन्। ‘जीवनयात्राका दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वभाविकै हो।
त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यका बारेमा पनि संवेदनशील हुनु जरुरी थियो। यी दुवै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। सामाजिक सञ्जालमार्फत गजुरेलले आफ्नो बारेमा काल्पनिक समाचार नलेखिदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्