मस्कट — घरेलु टोली ओमानले ट्वान्टी–२० विश्वकपको उद्घाटन खेलमा नवप्रवेशी पपुवा न्युगिनीलाई १० विकेटले पराजित गरेको छ । कोभिड–१९ को महामारीका कारण भारतबाट सारिएको प्रतियोगिताको पहिलो दिनमा आइतबार मस्कटमा ३ हजार दर्शक क्षमताको रंगशाला पनि खाली नै देखिएको थियो ।
ओमानका कप्तान जिसन मक्सुदले २० रन खर्चेर ४ विकेट लिएपछि पहिलो पटक विश्वकपको अनुभव गरिरहेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच मक्सुदले एकै ओभरमा ३ विकेट लिए ।
बिलाल खानले पहिलो ओभरमा टोनी उरालाई र कलिमुल्लाहले दोस्रो ओभरमा लेगा सिएकालाई बोल्ड गरेपछि पपुवा न्युगिनीले रनको खाता खोल्नुअघि नै दुवै ओपनरलाई गुमाइसकेको थियो । कप्तान असाद भालाले ४३ बलमा ५६ र चार्ल्स अमिनीले ३७ रन बनाउँदै तेस्रो विकेटमा ८१ रन जोडेर पपुवा न्युगिनीको स्थितिलाई सुधारेका थिए ।
तर मक्सुदले एकै ओभरमा नोर्मन भानुआ, सेसे बाउ र किल्पिन डोरिगालाई आउट गरेपछि एक समय १०२–३ को स्थितिमा रहेको पपुवा न्युगिनीको नाटकीय पतन भएको थियो । भालाले ४ चौका र ३ छक्का तथा अमिनीले ४ चौका र १ छक्का प्रहार गरे । ‘मैले विकेट
लिनुअघि उनीहरूले निकै राम्रो ब्याटिङ गरिरहेका थिए, त्यसपछि उनीहरूले ठूलो स्कोर बनाउन सकेनन्,’ मक्सुदले भने ।
अकिब इल्यास र जतिन्दर सिंहले सानदार ब्याटिङ गर्दै ओमानलाई ६.२ ओभरअगावै विजय दिलाए । इल्यास ४३ बल खेली ५० र जतिन्दर ४२ बल खेली ७३ रनमा अपराजित रहे । इल्यासले ५ चौका र १ छक्का तथा जतिन्दरले ७ चौका र ४ छक्का प्रहार गरे । ‘ब्याटिङमा हामीले राम्रो सुरुवात गर्न सकेनौं, विनारन नै २ विकेट गुमाइसकेका थियौं,’ पपुवा न्युगिनीका कप्तान भालाले भने ।
समूह ‘बी’ का अन्य दुई टोलीमा बंगलादेश र स्कटल्यान्ड छन् । आइतबार नै भएको अर्को खेलमा बंगलादेशलाई स्कटल्यान्डले ६ रनले हरायो । स्कटल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४० रन बनाएको थियो । १४१ रनको लक्ष्य पाएको बंगलादेशले भने ७ विकेट गुमाउँदै १३४ रन जोड्न सफल भयो ।
समूह ‘ए’ मा रहेका आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंकाले सोमबार प्रतिस्पर्धा गर्नेछन् । पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेका ८ टोलीबाट दुवै समूहका शीर्ष दुई टोली सुपर १२ को राउन्ड रोबिनमा पुग्नेछन् । यी चार टोलीसहित इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, साविक विजेता वेस्ट इन्डिज, भारत, पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानले यूएईको दुबई, अबुधाबी र शारजहाँमा प्रतिस्पर्धा गर्नेछन् ।
कमेन्ट गर्नुहोस्