लन्डन : स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिग फुटबलमा पुनरामगन जित निकालेको छ। ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले समूह ‘एफ’को खेलमा पहिलो हाफमा २–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै इटालियन क्लब एटलान्टालाई ३–२ गोलले पराजित गरेको हो।
म्यानचेस्टर युनाइटेडको जितमा रोनाल्डोले विजयी गोल गरेका थिए। खेलमा अग्रता भने पाहुना टोली एटलान्टाले लिएको थियो। खेलको १५औं मिनेटमा मारियो पासालिकले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए। मेरिह डेमिरलले २८औं मिनेटमा गोल गर्दै एटलान्टाको अग्रता दोब्बर बनाएका थिए।
दोस्रो हाफमा भने म्यानचेस्टर युनाइटेड खेलमा फर्किएको थियो। ५३औं मिनेटमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काएका थिए। उनले ब्रुनो फर्नान्डेजको पासलाई सदुपयोग गर्दै गोल उत्कृष्ट गोल गरेका थिए। एडिन्सन काभानीको पासमा ७५औं मिनेटमा हेरी म्यागुयरले म्यानचेस्टर युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए। त्यसपछि खेल सकिन नौ मिनेट बाँकी रहँदा क्रिस्टियानो रोनाल्डोले गोल म्यानचेस्टर युनाइटेडलाई जित दिलाएका थिए। लुक सले उपलब्ध गराएको पासमा हेड गोल गर्दै रोनाल्डोले म्यानचेस्टर युनाइटेडलाई जित दिलाएका हुन्।
भिल्लारियलले स्विसले गर्यो चार गोल
यही समूहको अर्को खेलमा स्पेनिस क्लब भिल्लारियलले स्विस क्लब योङ ब्वाइजलाई ४–१ गोलले पराजित गर्यो। भिल्लारियलको एकपक्षीय जितमा एमेरी पिनो, जेरार्ड मोरिनो, अल्बर्टो मोरिनो र सामुयल चुकविजले गोल गरे। योङ ब्वाइजका मेसाक एलियाले सान्त्वना गोल फर्काए।
यस समूहमा म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा उक्लिएको छ। म्यानचेस्टर युनाइटेडले तीन खेलमा ६ अंक जोडेको छ। एटलान्टा चार अंकसहित दोस्रो स्थानमा छ। चार अंक नै जोडेको भिल्लारियल तेस्रो र तीन अंक जोडेको योङ ब्वाइज पुछारमा छ।
चेल्सीले सानदार जित
च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै समूह ‘एच’को खेलमा अर्को इङ्लिस क्लब चेल्सीले सानदार जित निकाल्यो। चेल्सीले स्विडिस क्लब माल्मोलाई ४–० गोलले पराजित गर्यो। तर, चेल्सीका लागि यो जित निकै महंगो सावित भयो। उसका मुख्य खेलाडी रोमेलु लुकाकु र टिमो वेर्नरले गए रातिको खेलमा चोट बोक्न पुगे। लुकाकुले एङकल र वेर्नरको ह्यामस्टिङको चोट बोकेका छन्। प्रिमियर लिगको लिडर चेल्सीलाई दुई मुख्य फरवार्डको चोट निकै महंगो पर्ने देखिएको छ।
चेल्सीमा जितमा जोर्गिन्होले दुई गोल गरे। उनले ती दुवै गोल पेनाल्टीमा गरेका थिए। खेलमा अग्रता चेल्सीले नवौं मिनेटमा लिएको थियो। आन्द्रेस क्रिस्टिेन्सेनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। थिएगो सिल्भाले उपलब्ध गराएको पासमा उनले गोल गरेका थिए।
जोर्गिन्होले २१ औं मिनेटमा पेनाल्टीमा पहिलो गोल गरेका थिए। काइ हभार्टजले ४८ औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल थपे। हडसन ओडोइले उपलब्ध गराएको पासमा हभार्टजले गोल गरेका थिए। जोर्गिन्होले ५७ औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई सानदार जित दिलाए।
यही समूहको अर्को खेलमा युभेन्ट्सले रसियन क्लब सेन्ट पिटर्सवर्गलाई १–० गोलले पराजित गर्दै शीर्ष स्थान कब्जा गर्न सफल भयो। निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सका डेजान कुलुसेभ्सीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए। समूह ‘एच’मा युभेन्ट्स नौ अंकसहित शीर्ष स्थानमा छ। चेल्सी तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ। तीन अंक जोडेको सेन्ट पिटर्सवर्ग तेस्रो र अंक बिहीन माल्मो तालिकाको पुछारमा छ।
बायर्न म्युनिखको सानदार जित
च्याम्पियन्स लिग फुटबलअन्तर्गत नै बुधबार राति बायर्न म्युनिखले बेन्फिाकामाथि सानदार जित निकालेको छ। समूह ‘ई’को खेलमा जर्मन क्लब बायर्न म्युनिखले पोर्चुगिज क्लब बेन्फिकालाई ४–० गोलले पराजित गरेको हो।
बायर्नको प्रभावशाली जितमा लोरी सेनले दुई गोल गरे। यस्तै रोबर्ट लेवान्डोस्कीले एक गोल थप्दा बायर्नले अर्को एक गोल आत्मघाती रुपमा उपहार पाएको थियो। ती सबै गोल खेलको अन्तिम २० मिनेटमा सम्भव भएको थियो। ७० औं मिनेटमा सेनले पाहुना टोली बायर्नलाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछि एभर्टन सोरेसको आत्मघाती गोलमा बायर्न २–० ले अघि बढ्यो। त्यसको दुई मिनेटपछि लेवान्डोस्कीले बायर्नलाई ३–० को अवस्थामा पुर्याए। ८४ औं मिनेटमा सेनले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई प्रभावशाली जित दिलाए।
बायर्नले समूहमा दोस्रो स्थानको बेन्फिकासँग पाँच अंकको अग्रता लिएको छ। बायर्नको नौ अंक छ भने दोस्रो स्थानको बेन्फिाकाको चार अंक छ।
बार्सिलोनाको पहिलो जित
यही समूहको अर्को खेलमा स्पेनिस महारथि बार्सिलोनाले पनि पहिलो जित निकालेको छ। बुधबार राति भएको खेलमा युक्रेनी क्लब डायनामो किभलाई १–० गोलले पराजित गर्दै बार्सिलोनाले पहिलो जित निकालेको हो।
घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकले निर्णायक गोल गरेका थिए। उनले खेलको ३६ औं मिनेटमा गोल गरेका थिए। जोर्डी अल्बाको पासमा उनले गोल गरेका हुन्। यस जितसँगै बार्सिलोनाले तीन खेलमा तीन अंक जोडेको छ। बार्सिलोनाले यस अघिका दुवै खेलमा पराजय बेहोरेको थियो। बार्सिलोना समूहको तेस्रो स्थानमा छ। डाइनामो किभले तीन खेलमा एक अंक जोडेको छ। किभ समूहको पुछारमा छ।
कमेन्ट गर्नुहोस्