चितवन : नेकपा (एमाले) ले १० औं राष्ट्रिय महाधिवेशनमा पाँच लाख कार्यकर्ता उतार्ने दाबी गरेको छ। शुक्रबार बिहान भरतपुरमा गरिएको पत्रकार सम्मेलनमा एमाले बाग्मती प्रदेशले महाधिवेशनको तयारी तीब्र रुपले अघि बढाएको जनाएको छ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले चितवनमा महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। त्यसका लागि उपयुक्त स्थानको छनोटकोका लागि छलफल सुरु भएको एमाले प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए।
‘एमाले मुलुकको ठूलो शक्ति हो। महाधिवेशनमा पाँच लाख मानिस आउने छन्।’ उनले भने ‘त्यसको व्यवस्थापनको लागि हामी लागेका छौँ।'
नेकपा विभाजनपछि छुट्टिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा रामबहादुर थापा 'बादल'को संयोजकत्वमा महाधिवेशन व्यवस्थापन समिति बनाएको छ। एमाले नेताहरूले यो संयोग मात्र भएको बताएका छन्।
‘एमाले सिङ्गो गठबन्धनसँग चुनाव लड्ने हैसियत राख्ने शक्ति हो। मिडियामा आए जसरी कसैको जिल्ला भएर होइन, मध्य भाग परेकोले हामीले प्रस्ताव गरेका हौँ।’ पोखरेलले भने, ‘कम्युनिस्ट आन्दोलनलाई उचाईमा पुर्याउन अबको महाधिवेशन एकताको महाधिवेशन हुनेछ।’
महाधिवेशनका लागि तयारी सुरु गरिएको जिल्ला कमिटीले जनाएको छ। एमालेका बाग्मती सहइन्चार्ज काशिनाथ अधिकारीले चितवनमा हुने महाधिवेशनले मुलुकको राजनीतिमा नयाँ तरंग ल्याउने बताए। ‘राजनैतिक र सामरिक महत्त्व चिनेर चितवनलाई जिम्मेवारी दिइएको छ। यो हाम्रो लागि खुसी र अवसर हो’ जिल्ला अध्यक्ष पार्वती रावलले भनिन्,‘आजैबाट हामी तयारीमा जुटेका छौँ।’ एक हप्ता भित्र चितवनमा उपयुक्त स्थान छनोट गरेर निर्णय गरिने उनले बताइन्। भरतपुर वा सौराहामध्ये एक स्थानमा गरिने एमालेले आन्तरिक तयारी गरेको छ।
कमेन्ट गर्नुहोस्