काठमाडौं : लामो समयदेखि नायक नायिकासँगै काम गर्दै आएका मेकअप आर्टिष्ट (पर्दा पछाडिका हिरो) हरुको पारिश्रमिक नबढ्दा मर्कामा परेका छन्। समयअनुसार पारिश्रमिक नबढ्दा यही क्षेत्रबाट हात धुनुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ। काम गरेको सुरुवाती चरणदेखि नै डिमान्टअनुसार पारिश्रमिक नपाएको उनीहरुको गुनासो छ।
एक हजारबाट सुरु गरेका नायक नायिकाहरुको पारिश्रमिक लाखभन्दा पनि माथि पुग्दा उनीहरुको पारिश्रमिक भने जहाँको त्यही छ। हाल चर्चित नायक नायिकाहरुले ३० लाखसम्म पारिश्रमिक लिँदै आएका छन्। नायक नायिकाको डिमान्टअनुसार नै पारिश्रमिक बढ्ने तर पर्दा पछाडिका कामदारहरुको बढ्ने नगरेको मेकअप आर्टिष्टहरु बताँछन्।
पुरानो मेकअप आर्टिष्ट अशोक रोक्काले चलचित्र क्षेत्रमा काम गर्न थालेको ३७ वर्ष भयो। उनले पाँच सयबाट काम सुरु गरेका थिए। लगानी भएअनुसार पारिश्रमिक नबढेको उनको गुनासो छ। लामो समयदेखि मेकअप सामानहरुको मुल्य पनि बढिरहेकाले पारिश्रमिक बढ्नुपर्ने उनको भनाइ छ।
मेकअप सामानको डेढ लाखसम्म मूल्य पर्ने तर आफूहरुले भने १० हजार मात्रै पाउँदा धेरै घाटा हुने उनले बताए। ब्रान्डका मेकअप सामानहरु किन्दा धेरै महँगो पर्ने उनले बताए। पारिश्रमिकको डिमान्ट गर्दा कामै नपाइएला भन्ने चिन्ता लाग्ने र कुरा उठाइहाले पनि बोलीमा मात्र सिमित रहने उनले बताए। समयअनुसार पारिश्रमिक नबढ्दा मेकअप आर्टिष्टहरुलाई समस्या रहेको उनले जानकारी दिए।
मेकअप आर्टिष्ट एमुना पाण्डेले तामाङले दुई हजारबाट काम सुरु गरेकी थिइन्। उनले मेकअप आर्टिष्ट भएर काम गर्न थालेको पाँच वर्ष पूरा भयो। मेकअप आर्टिष्टको पारिश्रमिक बढ्न नसकेको उनको भनाइ छ।
पारिश्रमिकका लागि आवाज उठाउँदै आएपनि नबढाइएको उनले बताइन्। कोरोना महामारीको कारण मेकअप आर्टिष्टलाई झन् धेरै समस्या भएको थियो। एमुनाले पनि महामारीको समयमा त ५ महिना काम नै गरिनन्। काम नपाएपछि उनी गाउँ फर्किएकी थिइन्। मेकअप सामानमा लगानी गरेसँगै पारिश्रमिक भने नबढेको उनले गुनासो छ।
मेकअप आर्टिष्ट सरोज बुढाथोकीको अवस्था पनि उस्तै छ। २० वर्षदेखि 'निखिल दाइ' फिल्मबाट सरोजले काम सुरु गरेका हुन्। उनीसँगै काम गर्ने नायक नायिकाहरुको पारिश्रमिक भने बढिरहेको तर मेकअप आर्टिष्टको पारिश्रमिक भने नबढेको उनले बताए।
फिल्म क्षेत्रमा काम गरिरहेका मेकअप आर्टिष्टहरु पछिल्लो समय म्युजिक भिडियोतिर गएको उनले बताए। उनका अनुसार पछिल्लो समय मेकअप सामान महँगो हुँदै गएको छ। लगानी भएसँगै आम्दानी त्यो अनुसारको नभइ घाटा भएको उनले बताए। दुई सय पर्ने क्रिमको अहिले तीन हजारसम्म मुल्य पर्छ।
मेकअप आर्टिष्टलाई धेरै घाटा भएको उनले भने, 'कुनै फिल्ममा तोकेभन्दा धेरै व्यक्तिलाई मेकअप गर्नुपर्छ। सिन हुनेभन्दा बाहिरको व्यक्तिको पनि मेकअप गरिदिनुपर्छ तर हाम्रो सामान मात्रै जान्छन् त्यो मेकअपको भने पारिश्रमिकमा जोडिदैन।'
यस्तै मेकअप आर्टिष्ट सोस्तीका श्रेष्ठले पनि पाउनुपर्ने पारिश्रमिक नपाएको गुनासो गरिन्। उनले यो क्षेत्रमा काम गर्न थालेको चार वर्ष भयो। म्युजिक भिडियोदेखि केही फिल्म काम गरिन्। हाल म्युजिक भिडियोमा मेकअप गरेबापत दिनको ५ हजार रकम दिने उनले बताइन्। उनले मेकअप सामान २० हजारदेखि ४० हजारसम्म पर्ने तर पारिश्रमिक भने थोरै हुने उनले बताइन्। उनले राजेश हमाल, करिश्मा मानन्धरदेखि धेरै अभिनेतासँग काम गरिसकेकी छिन्। मेकअप आर्टिष्टहरुको तलब बताउनुपर्ने उनको माग छ।
मेकअप आर्टिष्ट अमृत मरहठ्ठाले पनि पाँच सयदेखि काम सुरु गरेका थिए। उनले २०५६ सालदेखि काम सुरु गरेका हुन्। लामो समयदेखि मेकअप आर्टिष्टको पारिश्रमिक नबढेको उनले बताए। मेकअप आर्टिष्टको संघ नभएको कारण पनि पारिश्रमिकका कुराहरु बोलीमा मात्रै सिमित भएको उनको भनाइ छ।
नेपाल चलचित्र प्राविधिक संघलाई बारम्बार मेकअप आर्टिष्टको पारिश्रमिक बढाउनुपर्ने माग गरिरहेको उनले जानकारी दिए। त्यसका लागि मेकअप आर्टिष्ट एकजुट हुनुपर्ने उनको भनाइ छ।
उनले म्युजिक भिडियोमा तीन हजारदेखि ३५ सयसम्म मात्र पारिश्रमिक रहेको र योभन्दा कम रकममा पनि काम गरिरहेको उनले जानकारी दिए। कलाकारलाई बढी रकम दिनुपर्ने भएकाले पनि पर्दा पछाडिको कर्मचारी तलब नबढेको उनको बुझाइ छ।
उनले भने, 'अनमोल केसी, पल शाहलगायतका चर्चित हिरोहिरोइनको तलब नै ३० लाखसम्म छ उनीहरुलाई मेकअप गर्ने हाम्रो तलब बढेको छैन।' पर्दामा देखिनेहरुले गर्दा नै फिल्म चलेको भन्ने मान्यता रहेपनि पर्दा पछाडि काम गर्नेहरुको भूमिका भने बिर्सनु नहुने उनले तर्क छ।
कमेन्ट गर्नुहोस्