लन्डन : इजिप्टका स्टार स्ट्राइकर मोहमद सलाहले व्यावसायिक खेल जीवनको अन्त्य इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल गर्ने चाहना व्यक्त गरेका छन्। स्काई स्पोर्ट्ससँग कुरा गर्दै २९ वर्षीय सलाहले व्यावसायिक खेल जीवन लिभरपुलबाटै अन्त्य गर्ने चाहना व्यक्त गरेका हुन्।
‘यो विषय मेरो इच्छामा मात्र निर्भर गर्दैन। तर, मलाई सोधेमा मेरो व्यवसायिक फुटबल करियरको अन्तिम दिनसम्म पनि लिभरपुलकै जर्सीमा खेल्न चाहन्छु’, सलाहले स्काई स्पोर्ट्ससँग भनेका छन्, ‘यो सबै मेरो हातमा छैन। यो सबै कुरा क्लब के चाहन्छ भन्नेमा निर्भर रहन्छ।’
सलाहले आफू लिभरपुलको विरुद्ध मैदान उत्रिएको कल्पना पनि गर्न नसकिने बताए। ‘म आफूलाई लिभरपुलविरुद्ध खेलेको देख्न पनि सक्दिनँ। यसका बारेमा पनि कुरा पनि गर्न चाहन्नँ’,उनले भनेका छन्, ‘यसले मलाई साँच्चै दुखि तुल्याउँछ।’
सन् १९९२ मा इजिप्टको नागरिगमा जन्मिएका सलाहले व्यवसायिक फुटबलको सुरुवात आफ्नै देशको अल मोकाबोलुनबाट गरेका थिए। यो क्लबमा अनुबन्ध भएको छोटो समयपछि नै उनी स्विस क्लब बसेल पुगेका थिए। बसेलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन् २०१४ मा इङ्लिस क्लब चेल्सीको नजर उनीमाथि परेको थियो। त्यतिबेला सलाह ११ मिलियन पाउन्डमा चेल्सीमा आवद्ध भएका थिए। ड्रिबिङ, स्पिड र उत्कृष्ट फिनिसिङका लागि चर्चित सलाहले रेड्स, रोमा र फिरओन्टिनाबाट पनि ब्यावसायिक फुटबललाई अगाडि बढाएका थिए उनी सन् २०१७ मा रोमाबाट लिभरपुलमा आवद्ध भएका थिए।
२९ वर्षीय स्ट्राइकर सलाहले लिभरपुलका लागि दुई सय १४ खेलमा एक सय ३७ गोल गरेका छन्। यस सिजनमा मात्र उनले १२ गोल गरिसकेका छन्। लिभरपुलसँग सलाहको सम्झौता अझै बाँकी छ। उनको सम्झौता आगामी सिजनमा मात्रै सकिने छ।
कमेन्ट गर्नुहोस्